सिराज खान
नेपालगन्ज, वैशाख २६ गते । साउदी अरबको मक्का–मदिनामा पवित्र हज यात्राका लागि जाने बाँकेका १२१ जना हजयात्रीलाई शुक्रबार बेलुकी विशेष कार्यक्रमबिच भव्य बिदाइ गरिएको छ ।
यस वर्ष बाँकेबाट हज यात्रामा जाने हाजीहरू नेपालगन्जस्थित बिपी चोकमा भेला भएका थिए । बिपी चोकमा आयोजित बिदाइ कार्यक्रममा तीर्थयात्रीलाई माला, गम्छा, टोपी र खादा ओढाएर सम्मानसहित बिदाइ गरिएको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका पूर्वअध्यक्ष हाजी अब्दुल रहमान मियाँले बताउनुभयो ।
उहाँले यस वर्ष बाँकेबाट १२१ जना मुस्लिम महिला तथा पुरुष हज यात्रामा सहभागी हुन लागेको जानकारी दिँदै शुभकामना र सम्मानसहित बिदाइ गरिएको बताउनुभयो ।
बिदाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, धार्मिक अगुवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा सामाजिक अगुवा जुबेर राई, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष मोहम्मद हारुन हल्वाई, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतले हजयात्रीलाई सम्मान गर्दै सफल धार्मिक यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँहरूले पछिल्लो समय हज यात्रा अत्यधिक महँगो बन्दै गएको उल्लेख गर्दै सबैको पहुँच सुनिश्चित गर्न सरकारले खर्च घटाउनेतर्फ विशेष पहल गर्नुपर्ने मागसमेत गर्नुभयो ।
मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार इस्लाम धर्मका पाँच अनिवार्य धार्मिक स्तम्भमध्ये हज पनि एक हो । आर्थिक रूपमा सक्षम प्रत्येक मुसलमानले जीवनमा कम्तीमा एक पटक हज गर्नुपर्ने धार्मिक कर्तव्य मानिन्छ ।
उहाँले भन्नुभयो, “इस्लामका अन्य अनिवार्य धार्मिक स्तम्भमा ईमान अर्थात् कल्मा पढ्नु, नमाज पढ्नु, जकात दिनु र रमजानमा रोजा बस्नु पर्दछन् ।”
हजका क्रममा तीर्थयात्रीहरूले साउदी अरबको मक्का सहरस्थित पवित्र काबाको परिक्रमा, सफा–मरवाहबिच दौड, अराफातको मैदानमा बसाइ तथा शैतानलाई ढुङ्गा हान्ने लगायतका धार्मिक विधि पूरा गर्छन् ।
त्यसैगरी, मदिना सहर पुगेर इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको पवित्र समाधिस्थलको जियारत गरी सलाम प्रस्तुत गर्ने परम्परा पनि रहेको छ । हरेक वर्ष विश्वभरबाट लाखौँ मुस्लिम धर्मावलम्बी मक्का र मदिनामा भेला भई हजका धार्मिक विधि सम्पन्न गर्दै आएका छन् ।