• २६ वैशाख २०८३, शनिबार

दमौली–भरतपुर प्रसारण लाइन : चितवनमा रुख कटान सुरु

blog

रुख कटानका लागि अनुमति पत्र लिँदै तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २६ गते ।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।

डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान, मुछान तथा घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो ।

यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

अनुमतिअनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नं। २९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिनेछ ।

काटिएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सब–डिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मंसिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ वटा रुख हटाउन स्वीकृति दिइएको थियो ।

जसमध्ये चितवनमा २५।२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ ।

सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।

चितवन खण्डमा रुख कटान सुरु भइसकेको भए पनि तनहुँतर्फ पर्ने क्षेत्रमा छपान कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक ९एडिबी०, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत् तथा मादी नदीको पानी उपयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अघि बढाइएको छ ।