• २६ वैशाख २०८३, शनिबार

हल्लाको पछि नलाग्न उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

blog

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ, वैशाख २६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उद्योगी–व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हुनुहुन्छ ।”

अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्र महत्त्वपूर्ण साझेदार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा उहाँले सरकारका पाँच प्राथमिकताबारे पनि जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी बिस्तार, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत सौम्य शक्ति बिस्तार रहेको छ ।

मुलुक अहिले अर्थतन्त्रको दिशा परिवर्तन गर्ने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आगामी बजेटसम्म धैर्य गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो ।

राजनीतिक स्थायित्व र इमानदारीपूर्वक काम गर्दा छिमेकी मुलुक भारतले हासिल गरेको प्रगतिको उदाहरण दिँदै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको आर्थिक अवस्था नेपालको वर्तमान अवस्थासँग केही हदसम्म मिल्दोजुल्दो रहेको बताउनुभयो ।

“सन् २०१४–१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक अहिले नेपालको जस्तै थिए । तर पछिल्ला १२ वर्षमा भारतले ठुलो फड्को मारेको छ । अब नेपाल पनि त्यही बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।