• २६ वैशाख २०८३, शनिबार

बाँकेमा नरैनापुरमा मात्रै छोटी भन्सार कार्यालय रहने

blog

बाँकेको नेपालगन्जस्थित भन्सार कार्यालय । तस्बिर : गोविन्द शर्मा

 गोविन्द शर्मा
बाँके, वैशाख २६ गते । बाँकेको पूर्वी सीमा नरैनापुरमा मात्रै छोटी भन्सार कार्यालय स्थापना गरिने भएको छ । सशस्त्र द्वन्द्वअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार अब एउटा मात्रै कायम हुने भएको हो ।

नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार बाँकेमा नरैनापुरलाई मात्रै छोटी भन्सार कार्यालयका रूपमा उल्लेख गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले विगतमा सात वटा छोटी भन्सार कार्यालय रहेकोमा अब एउटा मात्रै कायम भएको बताउनुभयो ।

भन्सार विभागबाट आवश्यक निर्णय प्राप्त भएपछि नरैनापुरमा भन्सार कार्यालय स्थापना प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “लगत्तै भन्सार विभागको केन्द्रीय टोली आउँदैछ । यसबारे थप जानकारी र आवश्यक निर्देशन प्राप्त हुने छ ।”

भन्सार कार्यालयका अनुसार नेपालगन्ज क्षेत्रमा यसअघि सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भङ्घोटना, साइगाउँ र उढरापुर गरी सात वटा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए ।

सशस्त्र द्वन्द्वका समयमा असुरक्षाका कारण ती छोटी भन्सार कार्यालय हटाइएको थियो । तीमध्ये केही कार्यालयका भवन जीर्ण भएर भत्किने अवस्थामा पुगेका छन् ।

यसैबिच नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा छोटी भन्सार कार्यालय स्थापना हुने खबरले स्थानीयवासी उत्साहित भएको बताउनुभयो ।

यसबाट भन्सार चोरी–निकासी नियन्त्रण हुनुका साथै व्यापार–व्यवसाय प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाहले बताउनुभयो । बाँकेमा भन्सार चोरी–निकासी नियन्त्रणका लागि विगतमा सञ्चालनमा रहेका सबै छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न माग हुँदै आएको छ ।