• २६ वैशाख २०८३, शनिबार

पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र

blog

सिम्ले खोलामा बाढी आएपछि अलपत्र परेका विद्यार्थीलाई राति उद्धार गर्दै स्थानीयवासी । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, वैशाख २६ गते ।
बर्खा सुरु भएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी देम्लिटारका बालबालिकाले सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको छ । विद्यालय जाँदा–आउँदा खोला तर्न नसकेर उनीहरू कहिले बाटोमै अलपत्र पर्छन् भने कहिले विद्यालय नै जानबाट वञ्चित हुने गरेका छन् ।

देम्लिटारका बालबालिका सिम्ले माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । विद्यालय आवतजावत गर्ने बाटोमा पर्ने सिम्ले खोलामा बाढी आएपछि विद्यार्थीहरू पटक–पटक समस्यामा पर्ने गरेका छन् ।

यस वर्ष पनि मनसुन सुरु हुनुअघि नै लगातारको वर्षाले वैशाखमै सिम्ले खोलामा बाढी आएपछि विद्यार्थी अलपत्र परेको स्थानीय प्रकाश घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैशाख २२ गते परेको भीषण वर्षापछि साँझसम्म बालबालिका घर नफर्किएपछि खोजी गर्न जाँदा उनीहरू खोला तर्न नसकी अलपत्र परेको अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानीयवासीले राति गएर बालबालिकाको उद्धार गरेका थिए ।

देम्लिटारमा कक्षा ५ सम्म पढाइ हुने त्रिभुवन प्राथमिक विद्यालय मात्र छ । कक्षा ६ देखि अध्ययनका लागि विद्यार्थीले दुई घण्टा पैदल हिँडेर सिम्ले माध्यमिक विद्यालय पुग्नुपर्ने बाध्यता छ । बिहान ८ बजे विद्यालय गएका विद्यार्थी साँझ ६ बजे मात्र घर फर्किने गर्छन् ।

तर, वर्षाका बेला बाटोमा पर्ने सिम्ले खोलामा बाढी आएपछि विद्यार्थीहरू अलपत्र पर्ने गरेको स्थानीयवासी बताउँछन् । बर्खायाममा खोला तर्न नसक्दा धेरै विद्यार्थी विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन् ।

बालबालिकासँगै अन्य यात्रु पनि खोला बढेका बेला अलपत्र पर्ने गरेका छन् । देम्लिटारवासीको यो समस्या पुस्तौँदेखिको हो । दूधकोशी किनारमा रहेको देम्लिटारमा सडकको पहुँच पुगे पनि सिम्ले खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका छन् । धेरै पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले समस्या समाधानतर्फ ध्यान नदिएको स्थानीय प्रकाश घिमिरेले गुनासो गर्नुभयो ।