• २६ वैशाख २०८३, शनिबार

सप्तरीमा लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान सुरु

blog

लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानको शुभारम्भ गर्दै राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनलगायत अतिथिहरू । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २६ गते ।
जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्दै सेवनकर्तालाई सुधारको दायरामा ल्याउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय सप्तरीले “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान–२०८३” सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत भारतीय सीमा नाकामा ड्रग्स टेस्टिङ चेकपोइन्ट स्थापना गरी ड्रग टेस्ट किट प्रयोगमार्फत लागुऔषध सेवन भए–नभएको परीक्षण गरिने सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो । सीमा क्षेत्रमा नियमित आवतजावत गर्ने युवायुवतीको तथ्याङ्क सङ्कलन गरी निगरानी बढाइने तथा सेवनकर्तालाई सचेतनामूलक श्रव्य–दृश्य सामग्रीमार्फत प्रशिक्षण दिइने योजना रहेको उहाँले बताउनुभयो ।

लागुऔषध सेवनकर्ताको अभिलेख तयार गरी उनीहरूको गतिविधिमाथि निगरानी राख्न जिपिएस लोकेसन ट्र्याकिङसमेत गरिने प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । साथै लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न औषधी पसल र मुख्य कारोबारीको पहिचान गरी कडा कानुनी कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा तिलाठी कोइलाडी गाउँपालिका–१, बेल्ही भन्सार चौकमा शुक्रबार आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो । अभियानको शुभारम्भ राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले गर्नुभएको थियो ।

कार्यक्रममा बरख गणका प्रमुख सेनानी सोवितबहादुर चन्द, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणका सशस्त्र प्रहरी उपरीक्षक रोशनकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका उपनिर्देशक कुलचन्द्र नेपाल लगायत जनप्रतिनिधि, व्यवसायी, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी जिल्लामा लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा सामाजिक सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।