• २६ वैशाख २०८३, शनिबार

यो गोरखापत्र (कविता)

blog

गोरखापत्र हो यौटा नेपाली इतिहासमा

अखबार भयो जेठो छापामाध्यम लोकमा । 


उन्नाइस सय अन्ठाउन्न वैशाख चौबिस

प्रादुर्भाव भयो राम्रो, गौरवान्वित मानिस ।


राणा प्रधानमन्त्रीमा देवशमशेर उत्तम 

जयपृथ्वीबहादुर व्यवस्थापक उत्तम ।


गरे सङ्कल्प भाषाको उत्थान, अखबार यो

साहित्यको भयो वृद्धि, सूचना परिपक्व भो ।


साप्ताहिक थियो पैले, हप्तामा दुईचोटि भो

सोम बुध तथा शुक्र हप्तामा तीनचोटि भो ।।


विकास क्रममा फेरि दैनिक भो प्रकाशन

गर्छ अक्षरको खेती, हेरूँ भन्छ सुशासन ।


नरदेव थिए मुख्य बने प्रथम पण्डित

नक्सालमा भयो जन्म, आजसम्म अखण्डित ।


कवि लेखक जन्मायो, बन्यो सञ्चारको गुरु

देशविदेशका सारा छाप्छ खबर भै गुरु ।


मधुपर्क, युवामञ्च, मुना, मासिक पत्रिका

अनलाइनमा फेरि अङ्ग्रेजीमा छ पत्रिका ।


बहुभाषिक छन्, पृष्ठ चार दर्जन छेउका

राष्ट्रभाषा सबैलाई स्थान दिने छ स्मारिका ।


शताधिक भयो छब्बिस् राष्ट्रको यो छ गौरव

फलोस् फक्रोस् यही पत्र बनोस् यो शान्ति सौरभ ।।