• २६ वैशाख २०८३, शनिबार

चिसापानी अस्पताल अब बर्दघाट नगर अस्पतालका रूपमा सञ्चालन हुने

blog

चिसापानी अस्पताल ।

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २६ गते ।
सरकारी स्वामित्वमा रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी अस्पताललाई आधिकारिक रूपमा ‘नगर अस्पताल’ घोषणा गरिएको छ । बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले उक्त अस्पताललाई नगर अस्पतालका रूपमा सञ्चालन तथा विकास गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले यस निर्णयलाई नगरबासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख दायित्व हो । चिसापानी अस्पताललाई नगर अस्पताल बनाउने निर्णयले स्थानीय नागरिकलाई सुलभ र आधुनिक उपचार सेवा प्राप्त गर्न सहज हुनेछ । अस्पताललाई थप सुविधासम्पन्न बनाउन आवश्यक बजेट र प्रविधिको व्यवस्था गरिनेछ ।”

१५ शय्या क्षमताको चिसापानी अस्पताल लामो समयदेखि नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको थियो । तर, आधिकारिक रूपमा नगर अस्पतालको मान्यता नहुँदा सेवा–सुविधा र प्रशासनिक प्रक्रियामा केही जटिलता रहेको बताइएको छ ।

सामाजिक विकास समिति संयोजक भीमकाजी गुरुङका अनुसार कार्यपालिकाको निर्णयसँगै अब अस्पतालले नगर अस्पतालको हैसियतमा सेवा प्रवाह गर्ने र थप सरकारी सुविधा प्राप्त गर्ने बाटो खुलेको छ । यसअघि वडा नं. १४ स्थित शहीद स्मृति सामुदायिक अस्पताललाई नगर अस्पताल बनाउने विषयमा छलफल भए पनि भौगोलिक र प्रशासनिक अवस्थालाई ध्यानमा राख्दै चिसापानी अस्पताललाई छनोट गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले प्रशासनिक रूपमा अस्पतालको स्तरवृद्धिसँगै नयाँ अवसरहरू थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगर अस्पतालको घोषणासँगै व्यवस्थापन, जनशक्ति परिचालन र स्वास्थ्य उपकरण उपलब्धताका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया अझ सुदृढ भएको छ । नगरपालिकाले सेवा विस्तार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम अघि बढाउनेछ ।”

नगरपालिकाले स्वास्थ्य पूर्वाधार सुदृढ गर्दै नागरिकलाई घरदैलोमै सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ । यस निर्णयबाट विशेषगरी बर्दघाटका ग्रामीण क्षेत्रका बासिन्दा लाभान्वित हुने र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।