• २६ वैशाख २०८३, शनिबार

सार्वजनिक जग्गा संरक्षण अभियान

मानवीय पक्षलाई ध्यान दिइयोस्

blog

वीरेन्द्रनगर नगरपालिकाको ५० औँ स्थापना दिवसमा बोल्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख २६ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमवासीमाथि ज्यादती नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले जनतालाई कानुन कार्यान्वयनका नाममा आतङ्कित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न आग्रह गर्नुभएको हो । 

शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको ५० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सुकुमवासी व्यवस्थापनका नाममा भएका गतिविधिले जनता उकुसमुकुसको अवस्थामा पुगेको उल्लेख गर्दै भन्नुभयो, “लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनु पर्छ ।’’ 

उहाँले भूमिहीन तथा सुकुमवासी समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै आगामी बजेटमा प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गर्नुभयो । 

सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेशको नमुना नगरपालिका बनाउन आफूहरू क्रियाशील रहेको बताउनुभयो । वीरेन्द्रनगरलाई समुन्नत र समृद्ध बनाउन अझै पनि ढल व्यवस्थापनलगायत धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । 

सुकुमवासीको विरोध

यसैबिच सुर्खेतका भूमिहीन तथा सुकुमवासीले वैकल्पिक व्यवस्था नगरी भूमिहीन र सुकुमवासीको उठिबास गराउन लागेको भन्दै शुक्रबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बर्सौंदेखि बसोबास गर्दै आएको स्थानमा उचित विकल्प नदिई बलपूर्वक हटाउनु अन्यायपूर्ण भएको बताएका छन् । साथै सरकारले बसोबासको समस्या समाधान गर्न संवाद र सहकार्यको बाटो अपनाउनुपर्ने र सुकुमवासी समुदायले सुरक्षित आवास, वैकल्पिक व्यवस्थापन तथा स्थायी बसोबासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।