उत्कृष्ट तस्बिरमा फोटो पत्रकारको सफलता मात्र होइन इतिहास पनि झल्कन्छ । १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा छापिएको एउटा तस्बिरले पनि त्यस्तै इतिहास बोकेर बसेको छ ।
वैशाख १३ गते गोरखापत्रमा छापिएको सो तस्बिरसँगै कपासको गुण केलाइएको आलेख प्रकाशित छ । त्यसै आलेखमा ‘श्रीचन्द्र कामधेनु चर्खा प्रचारका खेती विभागद्वारा प्रकाशित कपास खेतीको साधारण सूचना’ भनी उल्लेख गरिएको छ । महिलाले चर्खामा धागो कातिरहेको तस्बिरमुनि ‘आफ्ना कपासका बगैँचामा ‘श्रीचन्द्र कामधेनु चर्खा’ द्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी’ भनेर तस्बिरको स्पष्ट विवरण (क्याप्सन) प्रकाशित छ । यसै तथ्यका आधारमा सोही तस्बिर छापिएको मितिलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाउन थालिएको हो ।
पत्रिकामा तस्बिर छापिएका सन्दर्भमा केही फरक मत नभएका होइनन् । राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको जन्मदिनका अवसरमा १९८३ साउन १८ गते सोमबार पहिलो पटक गोरखापत्रमा तस्बिर छापिएको पाइन्छ । यसैलाई पहिलो छापिएको तस्बिर मानिनुपर्ने मत पनि नभएको होइन । तथापि समाचार र समाचारीय मूल्यसहितको तस्बिरलाई पहिलो प्राथमिकतामा राखी राष्ट्रिय पत्रकारिता दिवस मनाउने सवालमा वैशाख १३ को तस्बिरलाई आधार लिएको पाइन्छ ।
नेपालको फोटोग्राफी इतिहासमा फोटो खिच्ने क्यामराको प्रवेश गराउने राणा प्रधानमन्त्री जङ्गबहादुर राणा हुन् । सन् १८५० मा उनी युरोप भ्रमणमा गएका बेला फोटो खिच्ने क्यामरा नेपालमा ल्याएको इतिहासमा उल्लेख गरिएको पाइन्छ तर सो क्यामराबाट खिचिएको तस्बिर कुन हो भन्ने अहिलेसम्म पनि जानकारी नभएको प्रत्युस पन्तको एउटा अनुसन्धानमा जनाइएको छ ।
नेपाली जनजीवनको तस्बिर खिचेर प्रकाशनमा ल्याउने पहिलो व्यक्ति बेलायतका नागरिक क्लेरेन्स कोमिन टेलरलाई चिनिन्छ । नेपाली पत्रकारिताको इतिहासमा फोटो छापिएको पहिलो अखबार गोरखापत्र हो । नेपालमा वीरशमशेरले डेढ सय वर्षअघि फोटोग्राफीको सुरुवात गरेका थिए । गोरखापत्रपछि सन् १९३४ मा ‘शारदा’ मासिक पत्रिकामा बालकृष्ण समद्वारा खिचिएको फोटो प्रकाशित भएको थियो । सो तस्बिर अनुसार बालकृष्ण समलाई नेपालको पहिलो फोटो पत्रकार पनि मानिन्छ । बालकृष्ण फोटोग्राफी, चित्रकला र साहित्यमा उत्तिकै सक्रिय व्यक्तित्व हुन् । नेपालको पहिलो नेपाली फोटोग्राफरका रूपमा डम्बरशमशेर राणालाई मानिन्छ । डम्बरशमशेर बालकृष्ण समका हजुरबा हुन् ।
नेपालको फोटोग्राफी इतिहासमा १९ औँ शताब्दीको मध्यतिर फोटोग्राफी व्यावसायिक रूपमा फस्टाएको पाइन्छ । पहिला राणा र राजपरिवारको फोटोमा मात्रै सीमित फोटोग्राफी पछि आएर सन् १९०९ मा काठमाडौँको प्याफलमा विष्णुध्वज जोशीले व्यवस्थित र पूर्ण व्यावसायिक ‘ग्रान्ड स्टुडियो’ स्थापना गरेका थिए । नेपालको फोटोग्राफी विस्तारै परिवार र आफन्तभन्दा पनि पत्रकारिताका रूपमा सन् १९५० देखि सन् १९८० को दशकमा विकास भएको पाइन्छ । क्यामरा यन्त्रबाट फोटो खिचेर छाप्ने कलालाई फोटोग्राफी भनिन्छ । फोटोग्राफी शब्द ग्रिक भाषाबाट आएको हो । ग्रिक भाषामा फोटोको अर्थ प्रकाश र ग्राफीको अर्थ छाप्नु अथवा कोर्नु हो । सन् १८२६ मा जोसेफ निसेफोर निएप्सेले संसारकै पहिलो फोटो खिचेको मानिन्छ । सन् १८३९ अगस्त १९ मा फ्रान्स सरकारले फोटोग्राफीलाई पत्रकारिताको मान्यता दिएको थियो । सोही कारण सन् २०१० देखि अगस्त १९ लाई विश्व फोटोग्राफी दिवस मनाउन थालेको पाइन्छ । १५ औँ शताब्दीतिर अब्सक्युरा क्यामराको विकासदेखि सुरु भएको क्यामराको यात्रा हेलियोग्राफी क्यामरा, डेगुएरिओ टाइप क्यामरा, क्यालो टाइप क्यामरा, वेटकोलोडियन, ड्राइप्लेट नेगेटिभ, कोडाक हुँदै आज डिजिटल फोटोग्राफीको युगमा छौँ । फोटो खिचेर के बाँच्न सकिन्छ ? यो प्रश्न धेरैको मनमा हुन्छ । मलाई पनि लाग्थ्यो के फोटो पत्रकारिता गरेर बाँच्न सकिन्छ ? यो अलि अप्ठ्यारो प्रश्न पनि हो तर बाँच्न सकिन्छ । मैले मेरो जीवनमा जति समय फोटो पत्रकारिता गरेँ जीवन्त तस्बिरहरू खिचिएका छन् । तस्बिरद्वारा धेरै कथा भनिएका पनि छन् । फोटो पत्रकारिता गर्दागर्दै साथीको एउटै तस्बिर तीन÷चार लाखमा बेचिएको सुन्दा अचम्म पनि लाग्थ्यो । फोटोग्राफी पेसा महँगो र कठिन पनि हो । त्यसैले मनमा एक किसिमको भय पनि हुन्छ । महँगो क्यामरा बोकेर आन्दोलन, भिडमा, पानी परेको बेला हिँड्न सचेत हुनु पथ्र्यो किनभने यदि कसैले नोक्सान पु¥याइदिए के गर्ने ? जुन अहिले पनि कायम नै छ । कति पटक त फोटो पत्रकार साथीहरूले तस्बिर खिच्ने क्रममा कुटाइ मात्र होइन ज्यान पनि गएको अवस्था छ । मैले पनि आन्दोलनका क्रममा तस्बिर खिच्दा दुव्र्यवहार भोगेको छु । स्कुटर तोडफोड भएको थियो । त्यसको जिम्मेवार को हुन्छ ?
अहिले डिजिटल युगमा फोटोग्राफरको सङ्ख्या धेरै नै छ । नेपालमा फोटोग्राफी, चित्रकारिता, फोटोपत्रकारिता व्यावसायिक पनि बन्दै गएको छ । नेपाल फोटो पत्रकारिता, फोटोग्राफी र पर्यटनका हिसाबले विश्वमा चिनिँदै पनि गएको छ ।