अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २५ गते । मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढ्दै कमाउदै गर्न थालेका छन् ।
विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको बालीविज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी पनि गर्ने गरेका हुन् ।
विद्यालयमा प्राविधिक धार कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो मेहनतबाट आम्दानी पनि गर्ने गरेका हुन् । बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेशाबारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबियाचौर बजारमा बिक्रीका पनि लागि लैजाने गरेका छन् ।
विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ५ रोपनी जग्गा भाडामा लिएर तरकारी लगाइएको छ । उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बावियाचौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कँडेलले बताउनुभयो ।
उहाँकाअनुसार यस सिजनमा साग र जुकिनी बिक्री गरिएको छ भने गोलभेडा फल्ने क्रममा रहेको छ । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले बताउनुभयो ।
उहाँक अनुसार विद्यालयबाट अहिले सम्म तीन ब्याचले कक्षा १२ उत्तिर्ण गरेर निस्केका छन् । हाल सम्म ५० जना हाराहारी विद्यार्थीहरुले विद्यालय स्तरको अध्ययन पुरा गरेका छन् भने अहिले कक्षा ९ मा पनि विद्यार्थीको चाप राम्रो रहेको छ ।
साविकको शिक्षा विभाग हालको शिक्षा तथा मानव संसाधन विभागबाट ५३७ वटा प्राविधिक धारका विद्यालयहरु रहेको मंगला गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेश कटुवालको भनाई छ ।
कटुवालकाअनुसार विभागले प्राविधिक शिक्षलाई गरिखाने शिक्षाको रुपमा विकास गरेको हुँदा यो धार तर्फ अध्ययन गर्नु आफु सँग प्रयोगात्मक सिपको विकास गर्नु र परिवारका लागि पनि आम्दानी सहितको दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले यस तर्फ अभिभावकले ध्यान दिनु पर्ने हुन्छ ।
मंगला माध्यमिक विद्यालयले उत्पादन गरेको तरकारी अहिले बावियाचौर बजारमै खपत हुने गरेको छ । विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ, विद्यार्थीले लगाएको तरकारीको बजार खोज्न समेत सघाउँछौ विद्यालयका प्रअ खत्रीको भनाइ छ । टनेलभित्र तथा खुल्ला स्थानमा टमाटर सहित अन्य तरकारीजन्य उत्पादनको विधि र प्रक्रियाका बारेमा शिक्षकले सिकाउने गरीएको छ ।
मंगला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द विश्वकर्माले छोटो समयमा उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने र प्रयोगात्मक अभ्यासका रुपमा जग्गा भाडामा लिएर शुरु गरेको सुनाउनुभयो ।
विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि मंगला माध्यमिक विद्यालयमा उचित छात्रावास तथा पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत मंगला गाउँपालिका वडा नम्बर २ र विद्यालयको समन्वयमा प्रयाप्त फिल्डमा आफ्नो क्षमता अनुसार कमाउन पनि सकिन्छ ।
विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको कक्षा ११ मा अध्ययनरत सुप्रिया आचार्यको भनाई छ ।
मंगला माविले भाडामा लिएको जग्गामा विगतमा च्याउ खेती समेत गरेको थियो । अब विद्यार्थीलाई च्याय खेतीसहित बजारको माग अनुसारका उत्पादनमा समेत प्रोत्साहन गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयले भाडामा लिएर व्यवस्थापन गरेको जग्गामा मौसमी तथा बैमौसमी तरकारी लगायतका कृषि उपज फलाउन बारेमा शिक्षकले करेसाबारीमै लगेर सिकाउँदा विद्यार्थी उत्साहित हुने गरेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई सञ्चालित मंगला माविमा हाल ५२ जना विद्यार्थी अध्ययनरत छन् ।