• २५ वैशाख २०८३, शुक्रबार

तल्लो स्वराडमा इलाका प्रशासन

blog

बिहीबार तल्लो स्वराड क्षेत्रको मेलौलीमा स्थापना भएको इलाका प्रशासन कार्यालय । तस्बिरः गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख २५ गते । बैतडीको पुर्चौडी नगरपालिकापछि तल्लो स्वराड क्षेत्रको मेलौलीमा पनि इलाका प्रशासन कार्यालय स्थापना भएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले बिहीबार कार्यालयको उद्घाटन गर्नुभएको हो । 

कार्यालय स्थापनासँगै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । मेलौली नगरपालिका–१ मा स्थापना भएको इलाका प्रशासन कार्यालयबाट तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका गरी तीन पालिकाका स्थानीयलाई नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । उहाँले यसअघि पुर्चौडी नगरपालिका–१, हाटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको जानकारी पनि दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला सदरमुकामबाट भौगोलिक रूपमा टाढा रहेको तल्लो स्वराड र पुर्चौडी क्षेत्रका बासिन्दालाई इलाका प्रशासनबाट सेवा दिने सरकारी लक्ष्य अनुसार काम अगाडि बढेको बताउनुभयो ।

स्वराड क्षेत्रमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न निकै सहज भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले नागरिकता बनाउन पञ्चेश्वरबाट बैतडी सदरमुकाम पुग्न गाडी भाडा मात्रै एकतर्फ एक हजार पाँच सय रुपियाँ खर्च हुने गरेको बताउनुभयो । अब यो बाध्यता हटेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । 

इलाका प्रशासन कार्यालयबाट शिवनाथ गाउँपालिकाका बासिन्दालाई सेवा लिन अझ बढी सहज भएको सो गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले महाकाली किनारसँग जोडिएका वडाबाट घन्टौँ हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । नागरिकलाई घरदैलोमै सेवा दिने सरकारीको नीति अनुसार मेलौलीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक जनशक्ति खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भौगोलिक रूपमा बैतडीको कुल क्षेत्रफल एक हजार ५१९ वर्ग किलोमिटर रहेको छ । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा १० स्थानीय तह र ८४ वडा छन् । जिल्लाको कुल जनङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ । 

यसअघि सदरमुकाम खलङ्गामा रहेको जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता जारी हुने गरेकोमा अब पुर्चौडी र मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि करिब एक लाख मानिसले गाउँमै सेवा पाउने भएका छन् ।