अजय शाह
गौशाला (महोत्तरी), वैशाख २५ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न नगराउन राजनीतिक दल तथा विभिन्न समूहलाई चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा आन्दोलन, बन्द, हड्ताल, चक्काजाम, धर्ना तथा जुलुसजस्ता गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको छ ।
प्रशासनले पछिल्लो समय विभिन्न राजनीतिक दल, समूह वा सङ्गठनले आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न बालबालिकालाई संगठित गरी आन्दोलन तथा प्रदर्शनमा प्रयोग गर्न सक्ने सम्भावनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सूचनामा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ उपदफा (२० को खण्ड छ) अनुसार बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक प्रयोजनका लागि प्रयोग गर्नु वा संलग्न गराउनु बालबालिकाविरुद्धको कसुर मानिने उल्लेख गरिएको छ ।
प्रशासनले कुनै पनि राजनीतिक दल वा समूहलाई आफ्नो स्वार्थ पूर्तिका लागि बालबालिकाको कोमल मनोविज्ञान र भविष्यसँग खेलबाड नगर्न सचेत गराएको छ ।
सूचनाको अवज्ञा गर्दै बालबालिकालाई राजनीतिक गतिविधिमा परिचालन गरेको पाइएमा संलग्न व्यक्ति वा पक्षलाई बालबालिका सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।