सिराज खान
नेपालगन्ज, वैशाख २५ गते । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बाँके कला केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा ‘प्रथम मेयर सांस्कृतिक कप’ आयोजना गर्ने जनाएको छ ।
अन्तरमाध्यमिक विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितालाई ‘प्रथम मेयर सांस्कृतिक कप’ को नामकरण गरेर लोकनृत्य प्रतियोगिता आयोजना गरिने बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सो नृत्य प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।
प्रतियोगितामा विभिन्न जातजातिका मौलिक संस्कृति झल्किने सामूहिक लोकनृत्य प्रस्तुत हुने उक्त प्रतियोगिताका संयोजक बिरेन्द्र यादवले जनाउनुभयो । संयोजक यादवका अनुसार प्रत्येक समूहमा कम्तिमा ६ देखि बढीमा १२ जना कलाकारले समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने समूहका लागि आकर्षक नगद पुरस्कार र ट्रफिको व्यवस्था गरिएको कला केन्द्रले जनाएको छ । यसका साथै, नेपालगन्जमा बसेर कलाकारिता क्षेत्रमा विशेष योगदान गर्ने एक जना वरिष्ठ कलाकारलाई सोही अवसरमा ‘विशेष सम्मान’ प्रदान गरिने बाँके कला केन्द्रका अध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीय कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितालाई आगामी वर्षमा अझै भव्य रूपमा आयोजना गर्नेगरी योजना बनाइरहेको बाँके कला केन्द्रले जनाएको छ ।