ललित बसेल
सुर्खेत, वैशाख २५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा कार्यरत विकास साझेदार संस्थालाई कर्णालीका लागि आएको बजेट सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभावलगायतका समस्या हटाउन भनी आएका विकास साझेदार संस्थाले कर्णालीको सूचकाङ्कमा सुधार ल्याउन आएको बजेटको सदुपयोग गर्न सुझाव दिनुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिहीबार आयोजना गरेको कर्णालीमा कार्यरत विकास साझेदारसँगको समन्वय बैठकमा उहाँले भन्नुभयो, “कर्णालीका निम्ति भनेर जे जति बजेट जसरी आएको छ, त्यसैमा सदुपयोग गरी कर्णालीको अवस्थामा सुधार ल्याउनुस् ।” उहाँले विकास साझेदार संस्थालाई दोहोरोपन नगर्न भन्दै प्रत्येक संस्थाले फरक फरक स्थानमा नमुनायोग्य काम गरेर देखाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “छरिएर धेरै साना काम गर्नुभन्दा कुनै एक ठाउँमा एउटा साझेदारले एउटा नमुनायोग्य काम गरेर पछिसम्म पहिचान झल्कने गरेर काम गर्न आग्रह गर्दछु ।”
मुख्मयन्त्री कँडेलले कर्णाली जस्ता भौगोलिक कठिनाइ भएको प्रदेशमा विकास साझेदार संस्थाले गरेको योगदान महìवपूर्ण रहेको भन्दै आगामी दिनमा पनि थप एकीकृत भई यहाँको हरेक सूचकाङ्क बदल्ने गरी काम गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
प्रदेशको आवश्यकता र प्रदेश सरकारको योजनालाई बल पुग्ने गरी सहयोग गर्न पनि उहाँले जोड दिनुभयो । प्रदेश सरकार एक्लैले विकासका काम गर्न सक्दैन भन्दै उहाँले भन्नुभयो, “साझेदार संस्थाले प्रदेश सरकारको नीति तथा योजनालाई बल पुग्ने गरी काम गर्न आग्रह गर्दछु ।”
मुख्यमन्त्री कँडेलले विकास साझेदारले कर्णाली प्रदेशमा धेरै जसो शिक्षा, स्वास्थ्य, कृषि, विपत्सँग सम्बन्धित कार्यक्रम गरेको भन्दै आगामी दिनमा यी कार्यक्रमले कर्णालीको सूचकाङ्कमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले तयारी गरिरहेको बजेट र नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव लिन विकास साझेदार संस्थासँग समन्वय बैठकको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीमा कार्यरत विकास साझेदार संस्थाले एकीकृत भई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले कर्णालीमा दुई दर्जन विकास साझेदारले विभिन्न क्षेत्रमा काम गरेको पाइएको हुँदा आगामी दिनमा ती कार्यक्रमबाट कर्णालीको अवस्थामा सुधार आउनुपर्ने बताउनुभयो ।
सो अवसरमा कर्णालीमा कार्यरत २३ वटा विकास साझेदार संस्थाले आफूहरूले सञ्चालन गरेको कार्यक्रमको बजेट, क्षेत्र, उपलब्धि र चुनौतीबारे जानकारी गराएका थिए । विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, विश्व खाद्य कार्यक्रम, जिआइजेड, हेल्भेटास, युनिसेफ, युएनडिपी, युएन वुमन, युएनएफपिए, वल्र्ड भिजन नेपाल, प्लान नेपाल, सुस्वा, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम, आइएनफ नेपाल, केयर नेपाललगायतका विकास साझेदार संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनीहरूले कर्णालीमा भौगोलिक कठिनाइ, मूल्यवृद्धिले विकास आयोजना प्रभावित हुन पुगेको, आवश्यक पर्ने दक्ष जनशक्ति अभाव, नीति नियम र कानुनको अभाव, न्यून बजेट, परम्परागत मान्यता र सोच जस्ता चुनौती भोग्नु परेको बताएका थिए ।