विराटनगर समाचारदाता
विराटनगर, वैशाख २५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साना र स्थानीय सञ्चार माध्यमका मर्कालाई सम्बोधन गर्न प्रदेश सरकारले विज्ञापनको समानुपातिक र व्यवस्थित वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार विराटनगरमा आयोजित ‘प्रादेशिक पत्रकारिता पुरस्कार तथा सम्मान कार्यव्रmम’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारको विज्ञापन नीतिले निजी क्षेत्र र सञ्चार माध्यमलाई पारेको नकारात्मक असरप्रति सरकार सचेत रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्नै स्रोत र संयन्त्रमार्फत मिडियालाई ठोस सहयोग गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेश आमसञ्चार प्रतिष्ठान ऐन’ पारित भइसकेको जानकारी दिँदै आगामी साउन १ गतेदेखि उक्त प्रतिष्ठान पूर्ण रूपमा कार्यान्वयनमा आउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानका लागि आवश्यक बजेट, कार्यालय र जनशक्तिको व्यवस्थापन गरिने छ, जसले पत्रकारहरूको क्षमता विकास र मिडियाको संस्थागत सुदृढीकरणमा काम गर्ने छ ।”
सम्बोधनका व्रmममा उहाँले पत्रकारिता क्षेत्रलाई सरकारको अन्धभक्त नभई तथ्यमा आधारित आलोचनात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा कमजोरीहरूलाई तथ्यसहित औँल्याइदिनुस्, जसले सरकारलाई सुध्रने मौका दिन्छ । तर बिनातथ्य कसैको चरित्र हत्या गर्ने र समाजमा भ्रम छर्ने पत्रकारिताबाट भने बच्नु पर्छ ।” मुख्यमन्त्रीले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउन प्रदेशले आफ्नै कपडा (खद्दर, अल्लो) उत्पादन र प्रयोगमा जोड दिएको भन्दै यस्ता सकारात्मक काममा सञ्चार माध्यमको साथ खोज्नुभयो ।
कार्यव्रmममा समावेशी प्रतिनिधित्वका आधारमा २० वर्षभन्दा लामो समयदेखि पत्रकारितामा सव्रिmय आठ जना पत्रकारलाई जनही एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । सुनसरीका गोपाल दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, मोरङका शेखर रेग्मी र श्यामसुन्दर सुतिहार सम्मानित हुनुभएको छ । झापाकी रेजिना गौतम, धनकुटाका सन्तोष रुचाल, सिद्धराज राई र सोलुखुम्बुका पत्रकार मनोज श्रेष्ठलाई पनि मुख्यमन्त्री कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सम्मान गर्नुभयो ।
मन्त्री पराजुलीले प्रदेश सरकार पत्रकारहरूको वृत्तिविकास र भौतिक सुरक्षाका लागि सधैँ तत्पर रहेको बताउनुभयो ।