• २६ वैशाख २०८३, शनिबार

गाउँमा सिंहदरबार

विद्यालय भवनबाट प्रशासन चल्दै

blog

स्थानीय विद्यालय भवनमा सञ्चालित इस्मा गाउँपालिका कार्यालय ।

तम्घास समाचारदाता

तम्घास (गुल्मी), वैशाख २६ गते । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले विद्यालय भवनबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ । विगतका नौ वर्षसम्म आफ्नै भवन निर्माण गर्न नसकेपछि सो गाउँपालिकाले विद्यालय भवनबाट प्रशासन चलाइरहेको छ । 

जिल्लाका पाँच स्थानीय तहले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । यद्यपि अझै पनि तीन स्थानीय तह भाडाका भवनमा निर्भर रहँदा वार्षिक रूपमा ठुलो रकम खर्चिन बाध्य भएका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै स्थापना भएका स्थानीय तहले नौ वर्षको अवधिमा क्रमशः आफ्नै संरचना निर्माणलाई प्राथमिकता दिएका भए पनि केही पालिकाले अझै स्थायी प्रशासकीय भवन बनाउन सकेका छैनन् ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तीमध्ये मुसीकोट, रेसुङ्गा नगरपालिका, मालिका, रुरुक्षेत्र र छत्रकोट गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

छत्रकोट गाउँपालिकाले केही दिनअघि मात्रै नवनिर्मित सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको हो । यसअघि गाउँपालिकाले सभाहलबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएको थियो ।

धुर्कोट, मदाने र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । भवन निर्माण सम्पन्न नहुँदासम्म ती पालिकाले अस्थायी संरचनाबाट सेवा सञ्चालन गरिरहेका छन् ।

मदाने गाउँपालिकाले साबिक गाविस भवनबाट, इस्मा गाउँपालिकाले विद्यालय भवनबाट, धुर्कोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलबाट तथा सत्यवती गाउँपालिकाले सभाहलमार्फत सेवा प्रवाह गर्दै आएका छन् । गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाले भने हालसम्म पनि भाडाका भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएका छन् । स्थायी प्रशासकीय भवन नहुँदा ती पालिकाले मासिक रूपमा ठुलो रकम भाडामा खर्च गर्न‘ परेको छ ।

कालीगण्डकी गाउँपालिकाले हालै मात्र प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरी बोलपत्र प्रक्रिया अगाडि बढाएको जनाएको छ । गाउँपालिकाका अनुसार सुविधासम्पन्न तीनतले भवन निर्माणको प्रक्रिया सम्झौताको चरणमा पुगेको छ । हाल गाउँपालिकाले दुई वटा भवनका लागि मासिक ९० हजार रुपियाँ भाडा तिर्दै आएको छ ।

गुल्मीदरबार गाउँपालिकाले पनि आफ्नै प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ । गाउँपालिकाले हाल तीन वटा भवन प्रयोग गर्दै मासिक ७४ हजार ९५१ रुपियाँ भाडा तिर्दै आएको छ ।

चन्द्रकोट गाउँपालिका स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएको छ । सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले गाउँपालिकाले क्याम्पसलाई मासिक ९७ हजार रुपियाँ भाडा बुझाउँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्थानीय तहहरूले आफ्नै प्रशासकीय भवन निर्माणलाई तीव्रता दिएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।