• २६ वैशाख २०८३, शनिबार

रेसुङ्गाको स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

blog

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख २६ गते।
गुल्मीको रेसुङ्गा नगरपालिकाले १३ औं स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा भएको विशेष समारोहको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो। त्यसअवसरमा नगरपालिकाले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सुशासन तथा विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सार्वजनिक गर्दै नागरिकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा पूर्ण खोप, पोषणमैत्री तथा किशोरीमैत्री स्वास्थ्य संस्थायुक्त पालिका सुनिश्चितता तथा दिगोपना कार्यक्रम, श्वासप्रश्वासका बिरामीहरूका लागि निःशुल्क अक्सिजन कन्सन्ट्रेटर वितरण अभियान घोषणा, पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा, स्थानीय पाठ्यपुस्तक विमोचन लगायतका महत्त्वपूर्ण कार्यक्रम गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सभा सदस्य केसीले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले समयको गति र परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्न जरुरी रहेको बताउनुभयो। मुलुक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी दिन अझ पेचिला हुन सक्ने धारणा राख्नुभयो। डिजिटल माध्यम र सूचना प्रवाहको क्षेत्रमा परम्परागत राजनीतिक शक्तिहरू कमजोर देखिएको टिप्पणी गर्दै केसीले अहिलेको परिस्थिति पुस्तान्तरणको आन्दोलन जस्तो रहेको बताउनुभयो। समाज र राजनीतिमा नयाँ पुस्ताको सोंच, प्रविधि र दृष्टिकोणले प्रभाव बढाइरहेको उल्लेख गर्दै उहाँले समयअनुकूल परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस समारोहमा लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले विकासका काममा फड्को मार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। स्थानीय सरकार स्वायत्त सरकार भएको उल्लेख गर्दै उहाँले चाहेका विकासका योजना स्थानीय तहले नै अगाडि बढाउन सक्ने बताउनुभयो। “सुन्दर र राम्रो रेसुङ्गा बनाउने दिशामा काम गर्नुपर्छ।,” उहाँले भन्नुभयो, “संस्थापक मेयर हुँदा सुरु गरिएका योजनालाई निरन्तरता दिँदै सम्पन्न गरेकोमा नगरप्रमुख पन्थीलाई धन्यवाद दिन चाहन्छु।” उहाँले स्थानीय तहले राजनीतिक आग्रहभन्दा माथि उठेर दीर्घकालीन विकासका योजनामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राज्यको अनुभूति दिलाउने प्रमुख जिम्मेवारी स्थानीय तहको रहेको बताउनुभयो। संविधानले दिएका सम्पूर्ण अधिकार स्थानीय सरकारले व्यवहारमा पूर्ण रूपमा उपयोग गर्न नपाइरहेको अवस्था रहेको भन्दै उहाँले आवश्यक कानुनी संरचना र स्पष्टताको अभाव रहेको धारणा राख्नुभयो। उहाँले सामाजिक तथा विकास निर्माणका क्षेत्रमा रेसुंगा नगरपालिकाले उल्लेखनीय काम गरिरहेको बताउँदै गाउँ र बस्तीहरू रित्तिँदै जाने अवस्थालाई रोक्न स्थानीय स्तरमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

श्रम र सीपमूलक शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो। साथै जनप्रतिनिधिको क्षमता विकास र स्रोत–साधन वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभयो। नगरप्रमुख खिलध्वज पन्थीले नागरिकले सुम्पिएको जिम्मेवारीलाई आत्मसात् गर्दै समुन्नत रेसुङ्गा निर्माणको अभियानमा आफूहरू निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य र पर्यटनलाई नगर विकासको मुख्य आधार बनाएर योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिनुभयो। नगरप्रमुख पन्थीले नगरपालिकाले वृद्ध नागरिकहरूका लागि अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेदेखि मोतियाबिन्दु भएका नागरिकको निःशुल्क आँखाको शल्यक्रियासम्मका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो।

यस्ता अभियानले नगरबासीमा आशा र भरोसा जगाएको उहाँको भनाइ थियो। उहाँले रेसुंगा बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नादर बढ्दै गएको उल्लेख गर्दै शिक्षालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनुभयो। स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मान समेत गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार स्थानीय पाठ्यपुस्तक निर्माणमा योगदान पु¥याउने प्रबुद्ध व्यक्तित्वहरू दीन पन्थी, ढुण्डिराज पोखरेल र गोपाल पन्थीलाई सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट निर्माण व्यवसायीको रूपमा एमके निर्माण सेवाका व्यवस्थापक रमेश पन्थी, राजेश्वरी कन्स्ट्रक्सनका भागवत गिरी तथा खड्गदेवी कन्स्ट्रक्सनका खुम खत्रीलाई सम्मान गरिएको थियो।

फोटोग्राफीमार्फत रेसुंगाको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै गुल्मीदरबार गाउँपालिकाका दिनेश बस्नेतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्य गर्ने श्रमिकहरू वडा नं. ५ का टोपलाल पौड्याल, गुप्तबहादुर केसी, पाराश्वर खनाल, सन्तोष नेपाली र कमला मरासिनीलाई पनि सम्मान गरिएको थियो। नगरपालिका भित्रका खेल शिक्षकहरू शान्ति नेपाली, विवेक पन्थी, सुनिल बस्नेत, जंग बहादुर थापा र सन्तोष थापालाई पनि सम्मान गरिएको थियो। उत्कृष्ट कृषि समूहहरूलाई समेत कार्यक्रममार्फत सम्मान गरिएको नगरपालिकाले जनाएको छ।