नेत्र शाही
जुम्ला, वैशाख २६ गते । जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ । कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहको समन्वयमा ५४ किलोमिटरको म्याराथुन दौड प्रतियोगिता सुरु गरिएको हो ।
जुम्लाका गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी तथा विश्वप्रसिद्ध धावक हरिबहादुर रोकायाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन शनिबार बिहान ६ बजे चन्दननाथ मन्दिरअगाडिबाट पूर्व वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं र धावक रोकायाले गर्नुभयो ।
आयोजक कर्णाली खेलकुद क्लबका अनुसार यस पटक प्रतियोगितामा करिब एक हजार खेलाडी सहभागी भएका छन् । धावक हरिबहादुर रोकायाका अनुसार ५४ किलोमिटर दौडतर्फ १३५ जना, १० किलोमिटर दौडतर्फ २०० जना तथा पाँच किलोमिटर दौडतर्फ ६५० भन्दा बढी धावक सहभागी छन् । यस वर्ष स्वदेशीसँगै भारत र फ्रान्सका धावकको पनि सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपियाँ, दोस्रो हुनेलाई ७५ हजार रुपियाँ र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सात वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता जुम्लाबाट सुरु भएर रारा तालमा पुगेर समापन गरिन्छ ।
प्रतियोगिताले हिमाली खेल क्षेत्रको प्रवर्द्धनसँगै खेल पर्यटन विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । ५४ किलोमिटर दौडमा नेपाली सेनाको नं. २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेतसहित विभिन्न खेलाडी सहभागी छन् । यस्तै, १० र पाँच किलोमिटर दौडमा युवा, ज्येष्ठ नागरिक तथा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको छ ।