• २६ वैशाख २०८३, शनिबार

कोरला नाकामा खानेपानीका लागि डिप बोरिङ सुरु

blog

कोरला नाकामा खानेपानीका लागि डिप बोरिङ आयोजनाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख २६ गते ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित कोरला नाकाको दसगजा क्षेत्रमा प्राकृतिक मुहान नभएपछि पहिलो पटक डिप बोरिङमार्फत खानेपानी व्यवस्थापनको तयारी थालिएको छ ।

कोरला नाकामा व्यवसाय गर्ने स्थानीय तथा पर्यटकलाई खानेपानीको चरम अभाव भएपछि लोमान्थाङ गाउँपालिकाले ३० लाख रुपियाँको लागतमा बोरिङ खानेपानी आयोजनाको काम सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले डिप बोरिङमार्फत पानी उत्खनन गरी खानेपानी समस्या समाधान गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राथमिक समस्या समाधानका लागि सानो बजेटबाट पनि प्रयास भइरहेको छ । तीनै तहका सरकारको समन्वित प्रयासबाट मात्रै दीर्घकालीन समाधान सम्भव हुन्छ ।”

कोरला नाकामा बोरिङमार्फत पानी उत्खनन गरी वितरण गर्न सफल भए जलवायु परिवर्तनका कारण मुहान सुक्दै गएका गाउँपालिकाका अन्य बस्तीमा पनि खानेपानी व्यवस्थापनका लागि यो प्रविधि उपयोग गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ ।

लिजी–नेचुङ नाका ९कोरला० को दसगजा क्षेत्रमा रहेको मुस्ताङ भन्सार कार्यालयको स्वामित्वमा रहेको जग्गामा गरिएको सर्वेक्षणका क्रममा १५० मिटर गहिराइमा पानीको स्रोत भेटिएको थियो । उक्त स्थानमा अहिले मेसिनमार्फत बोरिङको काम सुरु गरिएको छ । पानीको स्रोत सुनिश्चित भएपछि ट्याङ्की निर्माण गरी कोरला नाका क्षेत्रमा वितरण गर्ने योजना गाउँपालिकाको छ ।

गाउँपालिकाले आह्वान गरेको बोलपत्रअनुसार एशियन बोरिङ कन्स्ट्रक्सन लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।

कोरला नाकामा रहेका ७० वटा टेन्टमा १४० व्यवसायी रहेका छन् । उनीहरूले हाल खानेपानीका लागि करिब १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालय क्षेत्रबाट सवारीसाधनमार्फत पानी ढुवानी गर्नुपर्ने अवस्था रहेको युवा व्यवसायी पेमा छिरिङ गुरुङले बताउनुभयो । तापक्रम ऋणात्मक हुँदा हिउँ संकलन गर्नुपर्ने तथा कहिलेकाहीँ चिनियाँ भन्सार कार्यालयबाट ट्यांकरमार्फत पानी माग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला क्षेत्रमा गाउँपालिकाले छ वटा अस्थायी शौचालय निर्माण गरेको छ भने चीन सरकारले चार वटा पक्की शौचालय निर्माणका लागि सामग्री उपलब्ध गराएको जनाएको छ ।

टेन्ट व्यवसायी समितिका अध्यक्ष नगावाङ खेदुप गुरुङले कोरला नाकामा खानेपानी, शौचालय र फोहोर व्यवस्थापन मुख्य समस्या रहेको बताउनुभयो ।

डिप बोरिङ आयोजनाको शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङ, प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्साललगायत स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

सन् १९६० को दशकमा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि खम्पा विद्रोहका कारण बन्द भएको कोरला नाका लामो समय कडा सुरक्षामा सीमित थियो । अन्तरदेशीय व्यापार मेलासँगै वि.सं. २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन गरिएको उक्त नाका चालु आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।