• २६ वैशाख २०८३, शनिबार

गोरखापत्रको ‘सनद’ विश्व पत्रकार आचारसंहिताको‌ मानक

blog

नेपालमा विसं १९५८ वैशाख ११ गते अर्थात् सन् १९०१ मा सनद जारी भएको थियो । गोरखापत्र साप्ताहिक प्रकाशन (विसं १९५८, वैशाख २४ गते) हुनु तीन हप्ताअघि प्राइममिनिस्टर श्री ३ देवशमशेरद्वारा जारी उक्त सनदमा छाप्न हुने र नहुने विषय यसरी उल्लेख गरिएको छ । 

“दुनियाँलाई हुन्या इस्तीहार नटाँसिने कुरा र नयाँ जारी भयाको ऐनको कुरा, कलकत्ताको र यहाँको दरभाउ, जंगी निजामतिले असल तरकी गरेकोमा उनको पुर्खावलि देखीको वयान ईष्टान्न, बृगडीयर कर्णेल वहादुर गंभीर सिंह माझीले ५० रुपैयाँ उठतिको जगा विर्ता, हामीबाट र मुखत्यारले दुनियालाई इसपीच दिएको, अनौठा अनोठा कुरा अर्थात् आकाशमा उडेर जाने समुद्रभित्र जाहाज लगेको, देषका दायामा आएको र यहाँ भयको, अदालत विषयमा अन्याय भयाको प्रमाण पुग्याको दोभिता भयाको अड्डा खानाका हाकिम अड्डामा नबसी फोहर गरेको, कसैले मैले यो काम लियाको छु नोकरी पाउ भन्या र यस ठाउँमा मैले धाउ पाया भनी जाहेर गर्न आयाको दामली छाप्न हुने उल्लेख छ । यस्तै छाप्न हुनेमा कसुर भै हाकिमहरू अदलीबदली भयाको, पाहाड मदेसमा जुलुम भयाको, खेती पाति विषय ईलम विषय धर्म विषय उन्नतिको असल–असल कामको कितापको उलथा, श्री ५ सरकारको ठुलो–ठुलो उत्सव, सोर्गेवासी श्री ३ महाराजका तारीफ, बाबुले कमायाको धन जुवा रंडीवाज वदनियत गरी खर्च गर्नेको दिड, सीकारका विषय हाम्रा गोर्खालीले फलानाले खुकुरीले चीतुवा भालुलाई हाने मारे भने इत्यादि वाहादुरी गरेको, ग्याजेट प्रोग्राम, वैंकटेश्वर वंगवासी छापाको असल–असल कुरा उलथा, दुनियाँको वदचलन फतुरा खर्चबाट दिल हटाउने राय र डाक्टरहरूले यसलाई आराम गर्दा यति खिल्लत पाया भन्या कुरा छन् ।”   

यस्तै श्री ५/३ सरकारका दरबार भित्रका स्वास्नी मानिसको विषय, फौज विषय र हातहतियार राजकाज, सरकारका आम्दानी खर्च, भोट र हाम्रो सेवानाका विकट वाटाको वयान सुनखानीका धाउ पायाको कुरा, अनेत्र पंचराज्ये विषयलाई तारीफ हुने कुरा भयाका कितापका उलथा र श्री ३ को तारीफको कुरा छाप्न प्रतिबन्ध थियो ।  विश्वमा पत्रकार आचारसंहिता, प्रेस काउन्सिलको अवधारणाको विकास र बहस हुनुअघि नै नेपालमा जारी सनदमार्फत तत्कालीन सरकारले सूचनालाई सत्य, तथ्य, पारदर्शी, प्रामाणिक, मानव अभिरुचिपूर्ण बनाउन खोजेको देखिन्छ । माथि उल्लिखित छाप्ने र नछाप्ने विषयलाई विश्लेषण गर्दा यस्तो छनक पाइन्छ । सुधारवादी प्राइममिनिस्टर देवशमशेरले गोरखापत्र प्रकाशन गरेर दुनियाँलाई विभिन्न जानकारी दिन खोजेको पाइन्छ । उनले ‘इस्तिहार नटाँसिने र नयाँ ऐन जारी भएको, कलकत्ता र नेपालको दरभाउ, आफू र मुखत्यारले गरेको सम्बोधन, नोकरी पाऊँ भनी दुनियाँले दिएको निवेदन, कसुर भै हाकिमहरू अदलीबदली भएको कुरा, श्री ५ सरकारको ठुलो ठुलो उत्सवका समाचार छाप्नु’ भनेर दुनियाँलाई सुसूचित गर्न खोजेको देखिन्छ । यस्तै ‘जङ्गी निजामतीले असल काम गरेमा उसको पुर्खाको समेत खोजी गरेर बयान छाप्नु’ भनेर जङ्गी निजामतीमा अनुशासन कायम राख्दै उत्साह ल्याउन र उनीहरूको मनोबल बढाउन खोजेको देखिन्छ । अर्कोतिर ‘अदालत विषयमा अन्याय भयाको प्रमाण पुगेमा, अड्डा खानाका हाकिम अड्डामा नबसेको भए छाप्नु’ भनेर न्यायमा जोड दिन खोजेको देखिन्छ । श्री ३ देवशमशेरमा पत्रकारिताको सेन्स अफ ह्युमरप्रति पनि रुचि रहेछ अर्थात् समाचारको तìवप्रति ज्ञान रहेछ भन्ने कुरा उनले ‘अनौठा अनौठा कुरा अर्थात् आकाशमा उडेर जाने समुद्रभित्र जाहाज लगेको र गोर्खालीले सिकारमा गरेको बहादुरीका समाचार छाप्नु’ भनेबाट प्रस्ट हुन्छ । ‘पाहाड र मदेसमा जुलुम भएको विषय सप्रमाण छापिदिनु’ भनेर सुशासन र शीघ्र डेलिभरीमा ध्यान दिएको देखिन्छ । ‘खेतीपाती, इलम, धर्म, उन्नतिको असल असल कामको किताबको उल्था गरी छाप्नु’ भनेर दुनियाँलाई उद्यमी बनाउँदै सकारात्मक सन्देश दिन खोजेको पाइन्छ । ‘बाबुले कमाएको धन जुवा र वेश्यावृत्ति (रन्डीबाजी) मा र दुनियाँको रकम अनावश्यक खर्च गर्नेका समाचार छापिदिनु’ भनेर समाजमा अनुशासन कायम गर्न खोजेको देखिन्छ ।

श्री ३ देवशमशेरले ‘स्वर्गवासी महाराजाको तारीफका कुरा छाप्नु’ भने पनि ‘आफ्नो तारीफका कुरा नछाप्नु’ भनेका छन् । अहिले दल, वर्ग, नेता, सेलिब्रेटीको महिमागान गाएर पत्रकारिता गरिन्छ । यसो नगर्दा रिसाउनेहरू पनि छन् । सञ्चार माध्यमहरूले आफ्नो स्वार्थअनुकूल सामग्री सम्प्रेषण गर्दछन् । गुणगान, चाकडी, चुप्लुसी मौलाएको वर्तमान पत्रकारिताभन्दा १२५ वर्षअघि श्री ३ देवशमशेरले दिएको निर्देशन नै प्रगतिशील देखिन्छ । यो त वर्तमान पत्रकार र सञ्चारमाध्यमका लागि लज्जाको विषय हो । यस्तै देशको सैन्य वा सुरक्षा र हातहतियार, खानीका विषय समाचारका विषय बन्नु हुँदैन । आफ्नो देशको यस्तो अवस्था खुला सम्प्रेषण गर्नु भनेको अरू बलियो राष्ट्रलाई स्वदेशमा निम्त्याउनु हो । यस्तो विषयमा देवशमशेर बरु धेरै दूरदर्शी रहेछन् । सुरक्षाकर्मीका हतियारसमेत यति उति भनेर तथ्याङ्क सावर्जनिक गर्ने वर्तमानका कतिपय पत्रकार र मिडियाका लागि यो विषयले गिज्याइरहेको हुन सक्छ ।  

यसरी पत्रकार आचारसंहिताको विश्व इतिहाससँग तुलना गर्दा पछिल्लो आचारसंहिताले जस्तै सनदले पनि समाचार सत्य, तथ्य र विश्वसनीय हुनुपर्ने, असत्य सूचना फैलाउन नहुने, राज्यका गोप्य सूचना बाहिर लैजान नहुने, अफवाह फैलाउन नहुने, सामाजिक सद्भाव बिग्रने गरी सामग्री प्रवाह गर्न नहुने, जिम्मेवारपूर्ण सूचना सम्प्रेषण गर्नुपर्ने, तारिफ, चाकडीका सूचना सम्प्रेषण गर्न नहुने, हतियार, सैन्य अवस्था, धाउ (खानी) का विषयका समाचार लेख्न नहुने), भ्रष्ट आचरण भएका व्यक्तिको समाजमा नैतिक पतन गराउनुपर्ने आदि जस्ता कुरामा जोड दिएको देखिन्छ । जहानियाँ राणाशासन कालमा प्रेस स्वतन्त्रता, स्वतन्त्रता, निष्पक्षता, सन्तुलन जस्ता कुरा नआउनु स्वाभाविक हो ।   

सनद र वर्तमान आचारसंहिताबिच समानता–भिन्नता छ । दुवैले सत्यता र तथ्यपरकतामा जोड दिएका छन् । तथ्यता, सत्यता आधुनिक पत्रकार आचारसंहिताको सबैभन्दा महìवपूर्ण सिद्धान्त हो ।  प्रेस काउन्सिलद्वारा जारी पछिल्लो आचारसंहिताले यसमा जोड दिएको छ । सनदले वर्तमान आचारसंहिताले जस्तै गोपनीयता, जिम्मेवारी, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र नैतिकता, राष्ट्रिय सार्वभौमसत्ता, सुशासन, पारदर्शितामा जोड दिएको छ ।

यद्यपि सनदले वर्तमान आचारसंहिताले जस्तै सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षण गरेको छैन । अहिले प्रेस तथा वाक् स्वतन्त्रतामा स्वच्छन्दता छ त्यतिबेला थिएन । अहिलेको सञ्चार माध्यम पब्लिक इन्टटी हो, त्यतिबेला हुन सकेको थिएन । राज्य नियन्त्रित थियो । अहिले धेरै सञ्चार माध्यम छन् । संस्थागत संरचनाका आधारमा हेर्दा सनद व्यक्तिगत र प्रशासनिक स्तरमा लागु हुने राजकीय आदेश थियो । त्यस समय गोरखापत्र मात्रै थियो, त्यो पनि सनद जारी हुँदा साप्ताहिक थियो । यो गोरखापत्रकै लागि जारी गरिएको थियो । सोको निगरानी कारबाही सरकारबाटै हुन्थ्यो, हुन सक्थ्यो । अहिले आचारसंहिता बनाउने, पत्रकार र सञ्चार माध्यमको अनुगमन, संरक्षण गर्ने प्रेस काउन्सिल, पत्रकार महासङ्घ आदि छन् । हिजो श्री ३ बाट सनद जारी हुन्थ्यो, सरकारबाट निगरानी हुन्थ्यो आज काउन्सिल नेपालबाट अनुगमन, कारबाही हुन्छ ।

आचारसंहिता र नैतिकसंहिता

पेसा–व्यवसायलाई स्वच्छ, स्वस्थ, सन्तुलित, मर्यादित, अनुशासित, जिम्मेवार र जवाफदेही बनाउन आचारसंहिता जारी गरिएको हुन्छ । यो पेसा, व्यवसाय वा व्यवहारमा संलग्न व्यक्ति वा संस्थाले गर्न हुने नहुने आचरणगत नियम हो । जसले पेसा, व्यवसाय, व्यवहारलाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँछ । आचारसंहिता (कोड अफ कन्डक्ट) सँगै नैतिकसंहिता (कोड अफ इथिक्स) पनि आउँछ । उस्तै लागे पनि यी दुईमा केही भिन्नता छ । मिडिया कानुनको तुलनामा कोड अफ कन्डक्ट र कोड अफ इथिक्स कम बाध्यकारी हुन्छ । पत्रकार र सञ्चार माध्यमले मिडिया कानुनमा तोकिएका दर्ता, शुल्क, जरिवाना जस्ता प्रावधान पूरा गर्नै पर्छ । 

कोड अफ इथिक्सको तुलनामा कोड अफ कन्डक्ट केही बाध्यकारी हुन्छ । जस्तो आमाबुबालाई ढोग्ने नढोग्ने, गुरु, मान्यजनलाई नमस्कार गर्ने नगर्ने, महिला, बालबालिका वा ज्येष्ठ नागरिक सिटमा बस्ने/नबस्ने कुरा नैतिकतामा भर पर्दछ । नमान्दा उसमाथि कारबाही हुँदैन । कोड अफ इथिक्सले भनेका कुरा मान्ने नमान्ने विषय व्यक्तिमा भर पर्दछ । कोड अफ कन्डक्टमा उल्लिखित नियम पेसाकर्मीले मान्नै पर्दछ । क्रिड र सनद पनि हुन्छ । क्रिड धार्मिक विश्वास, शपथ वा प्रतिबद्धता जस्तै, सनद चाहिँ सरकारी सूचना, आदेश लेखिएको राजकीय आज्ञापत्र हो ।   

सञ्चारविद् वाइमर र डोमिनिकका अनुसार पत्रकारितामा आचारसंहिताको आचरणगत मान्यताहरूको विकास नै सत्य र साँचो व्यवहार गर्न भएको हो । सञ्चारविद् लालदेउसा राईको विचारमा नैतिकवान् हुनु भनेको मानव हुनु हो । मानव हुनु भनेको नैतिकवान् हो । तसर्थ नैतिक व्यवहार मानवोचित व्यवहार हो । गौतम बुद्धद्वारा प्रतिपादित अस्टाङ्गिक मार्ग (सम्यक् ज्ञान, सम्यक् विचार, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् जीवनयापन, सम्यक् प्रयास, सम्यक् चेतना र सम्यक् एकाग्रता) निकै महìवपूर्ण छ । यीमध्ये सम्यक् ज्ञान, सम्यक् विचार, सम्यक् वाणी र सम्यक् कर्मलाई पत्रकारिता–कर्मसँग जोडेर हेर्न सकिन्छ । सम्यक् ज्ञान भनेको सही सूचनाको ज्ञान हो । तथ्यपरक ज्ञानसँगै विचार पनि सम्यक् हुनु पर्दछ । सम्यक् ज्ञान र विचार भएपछि मात्रै वाणी (अभिव्यक्ति) दिनलायक हुन्छ । यी तीनैको तालमेल मिलेपछि मात्रै कर्म (एक्सन) मा जानु पर्दछ । यहाँ त्यो सम्यक् कर्मलाई पत्रकारिता भनेर बुझौँ । हिन्दु, इस्लामसहित विविध धर्मशास्त्रका आध्यात्मिक सूत्रहरूलाई पनि आचारसंहितासँग जोडेर हेर्न सकिन्छ । आचारसंहिता/नैतिकसंहिता/क्रिड पेसासँग सम्बन्धित व्यक्ति, संस्था र सरोकारवालाद्वारा जारी गरिन्छ ।

राज्यद्वारा गठित नियमनकारी निकायले पेसाकर्मीको सहमति र सहभागितामा तयार जारी गरी सोको अनुगमन र कारबाही गर्दछ । विविध पेसा जस्तै पत्रकारिता तथा आमसञ्चारलाई स्वच्छ, स्वस्थ, सन्तुलित, मर्यादित, अनुशासित, जिम्मेवार बनाउन पत्रकार आचारसंहिता जारी गरिन्छ । सनद श्री ३ बाट जारी भएको आदेशपत्र हो ।  

सन् १९२३ मा अमेरिकी पत्रिका सम्पादक समाज (आसने) ले जारी गरेको पत्रकारिता पेसासँग सम्बन्धित सातबुँदे सिद्धान्तलाई पत्रकार आचारसंहिताको प्रमुख प्रारम्भ मानिन्छ । क्यानन् अफ जर्नालिजम पनि भनिने यस सिद्धान्तमा जिम्मेवारी, प्रेस स्वतन्त्रता, स्वतन्त्रता, निष्पक्षता, इमानदारिता, सन्तुलित प्रस्तुति र शिष्टता रहेका छन् । अमेरिका जस्तै स्विडेन, बेलायत, जापान, भारत, फ्रान्स, फिनल्यान्ड, जर्मनी, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कामा जारी पत्रकार आचारसंहिताले पनि मूलतः स्वच्छ, स्वस्थ, सत्य, तथ्य, सन्तुलित, जिम्मेवार पत्रकारितामा जोड दिएको देखिन्छ ।

अन्त्यमा सनद

यद्यपि सनदलाई पत्रकार आचारसंहिता मान्ने नमान्ने बहस कायम छ । एकथरिले जहानियाँ राणा शासनमा जारी फर्मान, हुकुमी, आदेश, पत्रिकाका लागि तय भएको सामान्य मार्गदर्शन भएकाले पत्रकार आचारसंहिता मान्न हुन्न भनेका छन् भने अर्काथरिले आचारसंहिता तथा प्रेस कानुनको जग भन्ने गरेका छन् । जस्तो सनदमा छाप्नु भन्ने १९ र नछाप्नु भन्ने ६ बुँदा भए जस्तै पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन र परिमार्जन, २०७६) मा पनि पत्रकार र सञ्चार माध्यमले गर्नुपर्ने १४ र गर्न नहुने १४ वटा बुँदा छन् । सनदमा पनि वर्तमान आचारसंहितामा झैँ छाप्ने र नछाप्ने प्रावधान भएकाले र आजको आधुनिक आचारसंहितासँग तुलना गर्दा यसले पनि सत्यता, गोपनीयता, जिम्मेवार सूचना प्रवाह, सार्वजनिक हित, राज्य, शासन र समाजप्रतिको उत्तरदायित्वमा जोड दिएकाले सनदलाई वर्तमान आचारसंहिता निर्माणको एउटा जग भन्न सकिन्छ । अर्कोतिर सनद जारी भएपछि नै नेपालमा आचारसंहिता वा प्रेस कानुनको आवश्यकतालाई औँल्याएको पाइन्छ । २००४ सालको वैधानिक कानुन, २००७ सालको अन्तरिम शासन विधान, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २००५, छापाखाना र प्रेस रजिस्टरी ऐन, २००८, छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २००९ मार्फत प्रेस तथा वाक् स्वतन्त्रतालाई विधिवत् रूपमा प्रयोग गर्न दिन खोजिएको थियो । २०१४ सालमा गठित प्रेस कमिसनले पत्रकार आचारसंहिता र प्रेस काउन्सिल गठनको सुझाव अघि सार्दा सनदलाई अध्ययन गरेन होला 

त ? यसलाई सन्दर्भ–सामग्रीका रूपमा लिएन होला त ? अर्कोतिर आजको जस्तो संस्थागत पत्रकारिता, नियमनकारी निकाय र पेसागत सङ्गठनको स्थापना नभएको, श्री ३ नै राज्य–सरकार जस्तो भएको अवस्थामा सनद सरकार वा श्री ३ बाट जारी हुनुलाई अन्यथा मान्न हुँदैन । श्री ३ बाट जारी भए पनि यसका धेरैजसो कन्टेन्टको आशय प्रगतिशील रहेकाले यसको मूल मक्सद सकारात्मक पत्रकारिता कायम गराउनु थियो भन्न सकिन्छ । 

यसरी नेपाली सनदको आँखीझ्यालबाट चिहाएर विश्व पत्रकार आचारसंहिताको इतिहास हेर्दा सनदलाई विश्व पत्रकार आचारसंहिताको एउटा मानक मान्न सकिन्छ । हरेक अध्ययनमा पश्चिमा साहित्यलाई नै मूल सन्दर्भ सामग्री ठान्ने हाम्रो बौद्धिक लघुताभासले सनदलाई विश्वको पत्रकार आचारसंहिता इतिहासमा दर्ज गर्न सकिरहेको छैन । के पत्रकारिता जगत्का सबै नेपाली दिग्गजले यसतर्फ ध्यान दिए यो सम्भव नहोला र ? कसले कसरी जारी ग¥यो भनेर सङ्कीर्ण सोच्नुभन्दा तत्कालीन राज्य व्यवस्थामा यति जारी हुनु नै ठुलो कुरा थियो र विश्वमा पत्रकार आचारसंहिता आउनुभन्दा २२ वर्षअघि नेपालबाट जारी भएको थियो भनेर सकारात्मक सोच्दै यसलाई विश्वमा स्थापित गराउन सबै जुटे कसो होला ?