शेरबहादुर सार्की
बाजुरा, वैशाख २६ गते । जिल्लाको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत पर्ने बाउली खोलामा वर्षौंदेखि पक्की पुल निर्माण नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । स्थानीय आवतजावतका लागि झोलुङ्गे पुल बने पनि सवारी साधनका लागि पक्की पुल नबन्दा वर्षायाममा मार्तडीदेखि कोल्टीसम्मको यातायात सेवा अवरुद्ध हुने गरेको छ ।
बाउली खोलामा पक्की पुल निर्माणका लागि २०७८ कात्तिक १५ गते धनगढीस्थित टीडीआर–जुगलकौशिक जेभीसँग पाँच करोड ५८ लाख ८८ हजार २७० रुपियाँको ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनीको लापरबाहीका कारण काम अलपत्र परेको छ । हालसम्म पुलको केवल एउटा पिल्लर मात्र निर्माण भएको छ ।
सम्झौताअनुसार पुल २०७८ फागुन १५ भित्र सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम पूरा हुन सकेको छैन । निर्माणमा ढिलाइ भएपछि सडक डिभिजन कार्यालय अछामले पुनः २०८२ फागुन ३० गतेसम्म म्याद थप गरेको थियो ।
बस चालक पदम रोकायाले बाउली खोलामा पुल नहुँदा वर्षायाममा कोल्टीसम्म बस सञ्चालन गर्न कठिनाइ हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी–कोल्टी सडकको मुख्य समस्या यही खोलाको पुल नबन्नु हो । पुस्तौंदेखि समस्या ज्यूँका त्यूँ छ ।”
निर्माण कम्पनी टीडीआर–जुगलकौशिक जेभीका सञ्चालक नरेश ओझाले भने हाल पिल्लर निर्माणको काम भइरहेको र आगामी वर्षसम्म पुलको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पिल्लर र वाल निर्माण भइरहेको छ, आउँदो हिउँदमा स्ल्याब हालेर काम पूरा गर्छौँ ।”
सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहका अनुसार ठेक्का सम्झौता भएदेखि हालसम्म पनि पुल निर्माण पूरा हुन सकेको छैन । उहाँका अनुसार निर्माण कम्पनीले हालसम्म करिब ९० लाख ५६ हजार रुपियाँभन्दा बढी भुक्तानी लिइसकेको छ ।
इन्जिनियर साहले पुल छिटो निर्माण गर्न पटक–पटक पत्राचार गरिए पनि काम अघि नबढेकाले अब थप निर्णय गर्ने तयारी भइरहेको बताउनुभयो ।