• २६ वैशाख २०८३, शनिबार

इतिहास संरक्षणमा ‘ब्ल्यु प्ल्याक’

blog

नेपाल संस्कृति, कला, साहित्य, दर्शन, युद्ध, राजनीति र आन्दोलनको लामो इतिहास बोकेको देश हो । यहाँका सडक, गल्ली, चौतारा, मन्दिर, पुराना बस्ती र भवनहरूमा हजारौँ कथा गाँसिएका छन् तर समयको परिवर्तनसँगै यी कथा मेटिँदै छन् । नयाँ पुस्ताबिच पनि नेपालका महान् व्यक्तित्व, महत्वपूर्ण घटना र ऐतिहासिक स्थल बिस्तारै हराउँदै गएका छन् ।

यही सन्दर्भमा बेलायतको ‘ब्ल्यु प्ल्याक’ (भित्ता वा स्मारकमा टाँसिने ढुङ्गा वा धातुको निलो पाता) कार्यक्रम नेपालका लागि एक राम्रो प्रेरणास्रोत बन्न सक्छ । यो कार्यक्रमले इतिहासलाई जीवन्त बनाउँछ । ऐतिहासिक स्थलहरूलाई बोल्ने क्षमता दिन्छ र सहरलाई सजिलै बुझ्न मद्दत गर्छ । नेपालमा यस्तो अभियान सुरु गर्नु केवल स्मारक राख्ने काम मात्र होइन; यो इतिहास संरक्षण, सांस्कृतिक पहिचान र शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने माध्यम पनि हुन सक्छ ।

बेलायतमा यो कार्यक्रम सन् १८६७ मा ‘रोयल सोसाइटी अफ आटर््स’ ले सुरु गरेको थियो र अहिले ‘इङ्ग्लिस हेरिटेज’ मार्फत निरन्तर चलिरहेको छ । लन्डनका धेरै ऐतिहासिक भवनमा निलो रङका गोलाकार प्लेटहरू देख्न सकिन्छ । यी प्लेट सबै निलो र गोलो नभए पनि तिनमा लेखिएका व्यक्तित्वको नामबाट सजिलै चिन्न सकिन्छ ।

सबैभन्दा पुरानो ‘प्ल्याक’ फ्रान्सका सम्राट् नेपोलियन तेस्रोको नाममा राखिएको थियो भने कवि लर्ड बायरनको पहिलो ‘प्ल्याक’ चाहिँ उनको घर भत्किएपछि हराएको थियो । ऐतिहासिक महत्वका आधारमा कतिपय घरमा दुई वटा ‘प्ल्याक्स’ पनि देख्न सकिन्छ; जस्तै– सिग्मन्ड फ्रायड र आना फ्रायड । जर्ज बर्नार्ड स, भर्जिनिया वुल्फ, महात्मा गान्धीका लागि पनि दुई वटा ‘प्ल्याक्स’ समर्पित छन् । यद्यपि हालको नियम अनुसार प्रत्येक व्यक्तिका लागि एक मात्र 

‘प्ल्याक’ राख्ने प्रावधान छ । यी ‘प्ल्याक्स’ ले ओस्कार वाइल्ड र भ्यान गग जस्ता प्रसिद्ध व्यक्तिका साथै ल्युक होवार्ड र विली क्लार्कसन जस्ता अनौठा पेसा भएका व्यक्तिको इतिहासलाई समेत समेट्दै भवनहरूको संरक्षणमा ठुलो मद्दत पु¥याएका छन् ।

सन् १९३८ मा डिजाइन गरिएको १९ इन्च व्यासको आधुनिक निलो गोलाकार ‘ब्ल्यु प्ल्याक’ प्रचलनमा भए पनि ‘सिटी अफ लन्डन’ मा डा. सामुएल जोन्सनका लागि सन् १८७६ मा राखिएको एउटा मात्र ‘प्ल्याक’ छ; जुन निलो छैन । समग्रमा ‘ब्ल्यु प्ल्याक्स’ ले इतिहासलाई जीवन्त राख्दै ऐतिहासिक व्यक्तित्व र स्थानबिचको सम्बन्ध दर्शाउने एक अद्वितीय माध्यमका रूपमा काम गरिरहेका छन् ।

आधिकारिक ‘ब्ल्यु प्ल्याक’ प्राप्त गर्न केही कडा मापदण्ड पालना गर्नुपर्ने हुन्छ; जसमा सम्बन्धित व्यक्तिको मृत्यु भएको कम्तीमा २० वर्ष पूरा भएको हुनु पर्छ । यो नियमले व्यक्तिको योगदान र ऐतिहासिक महत्वलाई पर्याप्त दृष्टिकोणबाट मूल्याङ्कन गर्ने अवसर प्रदान गर्छ । ‘ब्ल्यु प्ल्याक’ को मुख्य उद्देश्य व्यक्तिसँगै उनीहरू बसोबास गरेका वा काम गरेका भवनलाई पनि सम्मान गर्नु हो । त्यसैले व्यक्तिको स्मृतिमा ‘ब्ल्यु प्ल्याक’ राख्न त्यो भौतिक संरचना (भवन) सुरक्षित हुनु अनिवार्य छ । यद्यपि इतिहासमा फ्रान्सका सम्राट् नेपोलियन तेस्रो जस्ता केही अपवाद पनि छन्; जसको नाममा उनी जीवित छँदै ‘ब्ल्यु प्ल्याक’ राखिएको थियो ।

यो प्रक्रिया पूर्णतः सर्वसाधारणबाट प्राप्त नामाङ्कनमा आधारित हुन्छ; जसले गर्दा जोकोहीले पनि योग्य र मापदण्ड पुगेका व्यक्तित्वको नाम सिफारिस गर्न सक्छन् । रोचक कुरा के छ भने सबै आधिकारिक ‘ब्ल्यु प्ल्याक’ निलो रङका हुँदैनन् । सुरुवाती समयमा खैरो, हरियो र टेराकोटा जस्ता विभिन्न रङ र आकारका प्लेट प्रयोग गरिन्थ्यो । सन् १९३८ पछि मात्र गोलाकार निलो ‘ब्ल्यु प्ल्याक’ लाई मानक डिजाइन मान्न थालिएको हो । कुनै पनि ‘ब्ल्यु प्ल्याक’ लाई आधिकारिक मान्नका लागि त्यसमा कला समाज, लन्डन काउन्टी काउन्सिल, ग्रेटर लन्डन काउन्सिल वा इङ्ग्लिस हेरिटेजमध्ये कुनै एक संस्थाको नाम अङ्कित हुनु पर्छ ।

सन् २०२५ का लागि नयाँ ‘ब्ल्यु प्ल्याक्स’ ले सांस्कृतिक प्रतीकहरूको जीवन र योगदानलाई सम्झाइरहेका छन् । यस वर्षको सूचीमा अड्री हेपबर्न, मार्क बोलान, एलिसिया मार्कोभा, उना मार्सन, बारबरा पिम र ग्राहम सुदरल्यान्ड समावेश छन् । हरेक ‘ब्ल्यु प्ल्याक’ वर्षभरि भवनका मालिकको स्वीकृतिपछि स्थापना गरिन्छ ।

इङ्ग्लिस हेरिटेज बेलायतको ऐतिहासिक सम्पदाको मुख्य संरक्षक सरकारी संस्था हो; जसले देशका पुराना भवन, किल्ला, स्मारक र ऐतिहासिक स्थलहरूको रक्षा, मर्मत र प्रचार गर्छ । यसको मुख्य काम इतिहास जोगाएर आममानिससम्म पु¥याउनु हो । यो संस्था १९ औँ शताब्दीबाट सुरु भएको थियो तर सन् १९८३ मा आधिकारिक सरकारी निकायका रूपमा स्थापना भयो । अहिले यसले ४२० भन्दा बढी ऐतिहासिक स्थल र एक हजारभन्दा बढी ‘ब्ल्यु प्ल्याक्स’ को व्यवस्थापन गर्छ । यो संस्थाले पर्यटन बढाउने महत्वपूर्ण भूमिका पनि खेलिरहेको छ । नेपालमा हामीले पनि पुरातत्व विभागलाई यही रूपमा व्यवस्थित गर्न सक्छौँ । 

‘ब्ल्यु प्ल्याक्स’ प्रणालीको मुख्य उद्देश्य इतिहासलाई किताबका पानाबाट निकालेर सडक र भवनसम्म ल्याउनु हो । इतिहास जब किताबमा मात्र सीमित रहन्छ, त्यो सुस्त लाग्छ तर जब मानिसहरू त्यही भवन वा सडकमा उभिएर सोच्छन्, ‘यहाँ त यति ठुलो व्यक्ति बसेका रहेछन् वा काम गरेका रहेछन्’ तब इतिहास जीवन्त र सम्झनायोग्य बन्छ । बेलायतमा यो कार्यक्रम सुरु गर्दा ठ्याक्कै यही सोच थियो । सामान्य मानिसलाई यो घर, यो सडक वा यो ठाउँ कुनै महान् व्यक्तिको जीवनसँग जोडिएको छ भन्ने थाहा दिनाले उत्प्रेरणा मिल्न सक्छ । यसले इतिहासको संरक्षण मात्र गर्दैन, राष्ट्रिय पहिचान र सांस्कृतिक गौरव पनि निर्माण गर्छ ।

विश्वभर ४० भन्दा बढी देशमा यसका विभिन्न रूप देखिन्छन् । अमेरिकामा ‘हिस्टोरिक मार्कर्स’, फ्रान्समा ‘पाभे दी मेमुआर’ र ‘पियेर द’आसोप्माँ’, इटालीमा ‘पियेत्रे द’इन्चाम्पो’, नर्वेमा ‘स्नुब्लेस्टाइन’, बेल्जियममा ‘पाभे द मेमुआर’ र ‘स्टोल्परस्टाइन’, क्यानडामा ‘स्टोल्परस्टाइन’ वा ‘स्टम्बलिङ स्टोन्स’ अनि जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, स्पेन, स्विडेन, डेनमार्क, फिनल्यान्डमा ‘स्टोल्परस्टाइन’ भनिन्छ ।

‘स्टोल्परस्टाइन’ को इतिहास निकै रोचक र भावनात्मक छ । यो परियोजना जर्मन कलाकार गुन्टर डेम्निगले सुरु गरेका थिए । सन् १९९० मा डेम्निगले जर्मनीको कोलोन सहरमा रोमा र सिन्टी समुदायका मानिसलाई नाजीहरूले डिपोर्ट गरेको बाटो चिनाउन रङको ट्रेल बनाएका थिए । जब उनी सन् १९९२/१९९३ मा त्यही ट्रेललाई कांसको अक्षरले बदल्न गए; त्यहाँ एक वृद्ध महिलाले उनीसँग कुरा गर्दै भनिन्, “यो क्षेत्रमा जिप्सीहरू कहिल्यै बसेका थिएनन् ।” यो कुराले डेम्निगलाई गहिरो प्रभाव पा¥यो । उनले सोच्न थाले, इतिहास बिर्सन नदिन कसरी प्रभावकारी तरिका अपनाउने ? यो घटनाबाट प्रेरित भएर उनले ‘स्टोल्परस्टाइन’ को अवधारणा विकास गरे । सन् १९९२ डिसेम्बर १६ मा कोलोन सिटी हलअगाडि पहिलो ‘स्टोल्परस्टाइन’ राखियो । यो दिन हेन्रिक हिम्लरले रोमा र सिन्टीहरूलाई ‘आँसविट्ज’ पठाउने आदेश जारी गरेको ५० औँ वर्षगाँठ थियो ।

‘अँसविट्ज’ दोस्रो विश्वयुद्धको सबैभन्दा ठुलो र भयानक नाजी शिविर हो । यो पोल्यान्डको ओस्विएन्सिमनजिकै अवस्थित थियो । सन् १९४० मा स्थापना भएको यो शिविरमा मुख्य रूपमा यहुदीहरूलाई सामूहिक रूपमा मार्न ग्यास चेम्बर र क्रिमेटोरिया बनाइएका थिए । यहाँ १३ लाखभन्दा बढी मानिसलाई ल्याइएको थियो । तीमध्ये ११ लाखभन्दा बढी मारिए । अधिकांश पीडित यहुदी थिए भने बाँकी पोलिस, रोमा, सोभियत युद्धबन्दी र अन्य थिए । सन् १९४५ जनवरी २७ मा सोभियत सेनाले यो शिविर मुक्त गरेको थियो । आज यो युनेस्को विश्व सम्पदा स्थल हो र ‘होलोकस्ट’ को मुख्य प्रतीक मानिन्छ । यो मानव इतिहासको सबैभन्दा अन्धकारपूर्ण घटना हो । ‘स्टोल्परस्टाइन’ भनेको १० सेन्टिमिटरको सानो कङ्क्रिटको घन हो; जसको माथि कांसको प्लेट जडिएको हुन्छ । यसमा पीडितको नाम, जन्ममिति र उनीहरूको अन्तिम विवरण (कहिले र कहाँ मारिए, डिपोर्ट गरिए वा आत्महत्या गरे) लेखिएको हुन्छ । यी ढुङ्गा पीडितहरूले अन्तिम पटक स्वतन्त्र रूपमा बसेको घर वा काम गरेको ठाउँको फुटपाथमा गाडिन्छ ।

‘स्टोल्परस्टाइन’ परियोजनाको मुख्य उद्देश्य ‘मानिसको नाम बिर्सिएपछि मात्र उनी बिर्सिन्छन्’ भन्ने यहुदी परम्परालाई जीवन्त राख्नु हो । ठुलो स्मारकभन्दा सानो र दैनिक जीवनमा देखिने यी ढुङ्गाले मानिसलाई हिँड्दा ‘ठेस लागेर’ इतिहास सम्झाउनु सजिलो हुन्छ भन्ने सोच थियो । सुरुमा यो परियोजना अवैध रूपमा सुरु भएको थियो तर पछि स्थानीय समुदाय र सरकारबाट समर्थन मिल्यो । आज यो संसारको सबैभन्दा ठुलो विकेन्द्रीकृत स्मारक बनेको छ । हालसम्म एक लाख १६ हजारभन्दा बढी ‘स्टोल्परस्टाइन’ युरोपका ३१ भन्दा बढी देशका एक हजार ८६० भन्दा बढी सहरमा राखिसकिएका छन् ।

‘स्टोल्परस्टाइन’ ले होलोकस्टका यहुदी, रोमा, समलिङ्गी, राजनीतिविरोधी, विकलाङ्ग र अन्य नाजी अत्याचारका पीडितलाई व्यक्तिगत रूपमा सम्झना गर्छ । यो कलाकार डेम्निगको जीवनको मुख्य काम बनेको छ । यो परियोजना इतिहासलाई बिर्सन नदिने, पीडितलाई सम्मान गर्ने र भावी पुस्तालाई शिक्षा दिने एक शक्तिशाली माध्यम बनेको छ ।

नेपालमा पनि व्यवस्थित रूपमा ‘ब्ल्यु प्ल्याक्स’ वा ऐतिहासिक स्मारक प्लेट थालनी गर्नु आवश्यक छ । किनभने यसले प्रसिद्ध व्यक्ति, ऐतिहासिक घटना वा भवनसँगको सम्बन्ध सार्वजनिक रूपमा स्मरण गराउन मद्दत गर्छ । यसले देशको सांस्कृतिक, ऐतिहासिक र राजनीतिक धरोहर सुरक्षित राख्न, नागरिकलाई जागरुक बनाउने र पर्यटन प्रवर्धन गर्ने अवसर दिने छ । ‘ब्ल्यु प्ल्याक्स’ ले विद्यालय, विश्वविद्यालय र साधारण नागरिकलाई नेपालको इतिहास अनि विभिन्न क्षेत्रमा योगदानकारी व्यक्तिका बारेमा जानकारी दिने छ । साथै ऐतिहासिक स्थलहरूमा राख्दा विदेशी तथा आन्तरिक पर्यटक आकर्षित हुने छन् । प्रारम्भिक चरणमा केही आधार बनाएर ‘ब्ल्यु प्ल्याक्स’ राखेर परीक्षण गर्न सकिन्छ । त्यसपछि स्थानीय संस्था, ऐतिहासिक समाज, विश्वविद्यालय र संस्कृति मन्त्रालयसँग सहकार्य गरी दीर्घकालीन रूपमा देशभरि फैलाउन सकिन्छ । यसरी ‘ब्ल्यु प्ल्याक्स’ थालनी गर्दा नेपालमा ऐतिहासिक स्मरण, सांस्कृतिक संरक्षण, शिक्षा र पर्यटन प्रवर्धन सबैलाई लाभ पुग्ने छ । यसले नेपाली नागरिकलाई आफ्नो धरोहरको मूल्य बुझ्न प्रेरित गर्ने छ र विदेशी पर्यटकलाई नेपालको समृद्ध ऐतिहासिक तथा सांस्कृतिक धरोहर अनुभव गराउने अवसर पनि दिने छ ।

  

लेखक बाट थप