• १९ वैशाख २०८३, शनिबार

हिल्साका सीमास्तम्भ अनुगमन

blog

हिल्सामा रहेको नौ नम्बर सीमास्तम्भको अनुगमन गर्दै जिल्ला सुरक्षा समिति । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १९ गते । नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएका दुई देशबिचका सीमास्तम्भको अनुगमन गरिएको छ । उत्तरी क्षेत्र हिल्सा पुगेर जिल्ला सुरक्षा समितिका संयोजकसहित सदस्यको टोलीले संयुक्त रूपमा ती सीमास्तम्भको अनुगमन गरेको हो । 

हिल्सामा स्थापना गरिएका नेपाल र चीनबिचका सिमाना छुट्याउने सीमास्तम्भको अनुगमन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । अनुगमन गरिएका सीमास्तम्भ व्यवस्थित र सुरक्षित रहेकोमा खुसी प्रकट गर्दै यसरी बारम्बार सीमास्तम्भ गर्नु सुरक्षा समितिको काम कर्तव्यभित्र पर्ने बताउनुभयो । हिल्सा क्षेत्रमा सात देखि १० नम्बरका सीमास्तम्भ स्थापना गरिएका छन् । तीमध्ये आठ, नौ र १० नम्बर सीमास्तम्भ जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको थियो । 

हिल्सामा स्थापना गरिएका सशस्त्र प्रहरी चौकीका सुरक्षाकर्मीले बारम्बार सीमास्तम्भको अनुगमन गरिरहे पनि जिल्लास्तरबाट पनि थप अनुगमन भएको हो । 

टोलीले सीमा क्षेत्रमा स्थापना भएको नेपालतर्फको हिल्सा बजारको पनि अनुगमन गरेको छ । नारा लेकको सडकमा जमेको हिउँ हिल्सा–सिमकोट सडक योजनाले एक्साभेटरबाट पन्छाएर सडक सुचारु गरेपछि हिल्सामा मानिसको चहलपहल बढ्दै गएको छ भने नेपाली व्यापारी तथा कामदार पनि चीनको ताक्लाकोटतर्फ जाने क्रम बढेको छ । हिल्सामा चहलपहल बढ्दै गएपछि प्रजिअ रेग्मीले सुरक्षा व्यवस्था कडा बनाउन हिल्साका दुवै प्रहरी चौकीलाई निर्देशन दिनुभयो । 

टोलीले यारी नारा हुँदै हिल्सासम्मको सडकको समेत अनुगमन गरेको छ । अनुगमनका लागि जिल्ला सुरक्षा समितिका सदस्य, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल, हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल बरालको सहभागिता रहेको थियो ।