बर्दीबास समाचारदाता
बर्दीबास, वैशाख १९ गते । निरन्तर भइरहेको वर्षाले कृषि तथा वन क्षेत्रमा सकारात्मक प्रभाव पारे पनि ग्रामीण भेगका सडक हिलाम्मे हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
विशेष गरी महोत्तरीको बर्दीबास, गौशाला र औरही आसपासका उत्तरी क्षेत्रमा वर्षा लगातार परिरहेकाले कच्ची सडक बिग्रिएका छन् । सडकका खाल्टाखुल्टीमा पानी जम्दा हिँडडुल गर्न कठिन भएको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा हिलाम्मे बनेका छन् । चुरे क्षेत्रका मडाहा, रातु र खयरमारा खोलामा आएको बाढीले उत्तरी भेगमा आवागमन मात्र होइन, मेलापातसमेत प्रभावित पारेको स्थानीयले दुःखेसो पोखेका छन् ।
वर्षाका कारण तापव्रmममा गिरावट आएको छ भने उखु, मुङ, लहरे तरकारी, आँप र लिची खेतीका साथै डढेलोबाट प्रभावित वन क्षेत्रमा भने राहत पुगेको छ । सडक बिग्रँदा उत्पादन बजारसम्म पु¥याउन किसानलाई समस्या भएको छ । प्रभावित क्षेत्रका वडाध्यक्षले कतै बजेट अभाव र कतै समयमै भुक्तानी हुन नसक्दा सडक मर्मत र स्तरोन्नतिमा समस्या परेको बताएका छन् ।
बर्दीबासको चुरे क्षेत्रमा पर्ने खयरमारा र टुटेश्वरका सडकमा पानी जमेर सवारी सञ्चालन प्रभावित भएको छ । नियमित चल्ने टेम्पो तथा साना सवारीसाधनसमेत अवरुद्ध हुँदा परबर, गोलभेँडा र हरियो खुर्सानी जस्ता तरकारीको बजारीकरणमा कठिनाइ भएको किसानको गुनासो छ ।
खोलामा पुल तथा वैकल्पिक बाटो नहुँदा विद्यार्थीलाई विद्यालय पुग्न र किसानलाई खेतबारी जानसमेत समस्या भइरहेको स्थानीय युवा अर्जुन बस्नेतले बताउनुभयो । मडाहा, खयरमारा र बाँके नदीसहित विभिन्न खहरेले घेरिएको खयरमारा गाउँ वर्षा हुँदा झन् प्रभावित हुने गरेको उहाँले बताउनुभयो । वडा नं. ११ का वडाध्यक्ष पूर्णबहादुर बलले आफू वडाको सडक समस्याबारे पूर्ण जानकार भए पनि कतै बजेट अभाव र कानुनी प्रावधानले चाहेर पनि सडक मर्मत र स्तरोन्नति गर्न नसकेको बताउनुभयो ।
असिना र वर्षाले क्षति
सर्लाही समाचारदाताका अनुसार सर्लाहीमा शुव्रmबार दिउँसोपख असिनासहितको वर्षाले तरकारी तथा अन्य बालीमा क्षति पु¥याएको छ । असिनापानीले जिल्लाको पश्चिमी भेगको मुर्तिया, सोल्टी, बरहथवा, शङ्करपुर, हजरियालगायत क्षेत्रमा क्षति गरेको हो । पानीसहित असिना पर्दा तरकारीको बोट नै सखाप पारेको बरहथवा नगरपालिका–५, हात्तीडन्डाका घनश्याम बलम्पाकीले जानकारी दिनुभयो ।
शुव्रmबार दिउँसोपख सर्लाहीको अधिकांश भूभागमा भारी वर्षा भएको छ । लालबन्दी नगरपालिका–७, डाँडाटोलका मानबहादुर विश्वकर्माले खेतका गरा नै टिलपिल हुने गरी वर्षा भएको बताउनुभयो । वर्षापछि तरकारी, भाँच्ने बेला भएको मकैलगायतका बाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष चैतदेखि नै बारम्बार बेमौसमी वर्षा भइरहँदा विभिन्न कृषि उपजमा क्षति पु¥याइरहेको छ ।
तेस्रो पटक भएको ठुलो वर्षाले काँचो इँटामा थप क्षति पु¥याएको सर्लाही इँटा व्यवसायी सङ्घका सचिव भगवान मैनालीले बताउनुभयो । शुव्रmबार बिहानबाट मौसम सफा भएपछि धमाधम काँचो इँटा तयार पारिरहेका व्यवसायीलाई दिउँसो एक्कासि ठुलो पानी परेर क्षति गरेपछि थप मारमा पारेको मैनालीले बताउनुभयो ।