• १९ वैशाख २०८३, शनिबार

पोखरामा दुई अर्ब २५ करोडको रिसाइकल सेन्टर, तीन हजारलाई रोजगारी

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

पोखरा, वैशाख १९ गते । पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यसहित करिब दुई अर्ब २५ करोड रुपियाँको लगानीमा अत्याधुनिक रिसाइकल केन्द्र निर्माण गरिरहेको छ ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र क्षेत्रमा निर्माणाधीन उक्त केन्द्रबाट प्रत्यक्ष रूपमा करिब तीन हजार जनालाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार यो केन्द्र पोखराको भौगोलिक पहिचान झल्किने गरी ‘घोप्टिएको ढुंगा’ शैलीमा डिजाइन गरिएको छ । यस्तो वास्तुकला नेपालमै दुर्लभ रहेको दाबी गरिएको छ ।

यो संरचना केवल भौतिक भवन मात्र नभई फालिएका वस्तुबाट नयाँ सामग्री उत्पादन गर्ने तथा चक्रीय अर्थतन्त्र (इकोनोमिक इको–सिस्टम) सम्बन्धी अध्ययन तथा सिकाइ केन्द्र (लर्निङ सेन्टर) का रूपमा समेत विकास गरिनेछ ।

दक्षिण कोरियाली सरकारको करिब दुई अर्ब २५ करोड रुपियाँ आर्थिक सहयोगमा सञ्चालित यस आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र कोइकाको साझेदारी रहेको छ । आयोजना कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारहरूसँग समन्वयमा काम अघि बढाइएको छ ।

यस परियोजनालाई प्रभावकारी बनाउन महानगरपालिकाका ३३ वटै वडामा १००–१०० जना सदस्य रहेको सामुदायिक समूह गठन गरिएको छ । ती समूहलाई आवश्यक प्राविधिक उपकरण तथा सामग्री आयोजनामार्फत उपलब्ध गराइँदै आएको प्रमुख आचार्यले जानकारी दिनुभयो । यस पहलले फोहोर व्यवस्थापनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

एक वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘कोसेली घर’ निर्माणको ठेक्का इन्टरनेशनल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी, अनामनगर (काठमाडौँ) ले पाएको हो ।

परियोजनाले नकुहिने फोहोर प्रशोधन गर्दै फोहोरबाट नयाँ उपयोगी सामग्री उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरी पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

फोहोरमैला व्यवस्थापनलाई आयआर्जन र पर्यटनसँग जोड्ने उद्देश्यसहित पोखरामा ‘ग्रिन भेन्चर जोन (जीभीजेड)’ निर्माण भइरहेको छ । ‘ग्रिन जब क्रिएसन थ्रु रिसाइकल एण्ड अपसाइकल’ परियोजना अन्तर्गत यो संरचना निर्माण भइरहेको हो, जसलाई स्थानीय रूपमा ‘कोसेली घर’ नाम दिइएको छ ।

पोखरा महानगरपालिका–९ मा निर्माणाधीन कोसेली घरलाई मुख्य रूपमा प्रदर्शनी तथा सिकाइ केन्द्रका रूपमा विकास गरिने परियोजनाका फोकल पर्सन एवं इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ फोहोर संकलनभन्दा पनि त्यसलाई उपयोगी र मूल्यवान सामग्रीमा रूपान्तरण गर्ने विषयमा प्रदर्शनी तथा प्रशिक्षण दिइनेछ ।

परियोजनाले पोखरा महानगरका १३६ वटा समुदाय छनोट गरी स्थानीय बासिन्दालाई फोहोरबाट आकर्षक सामग्री बनाउने तालिम प्रदान गरिरहेको छ । ती समुदायले तयार गरेका सामग्रीहरू कोसेली घरमै प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।

“हामीले रिसाइकलभन्दा पनि अपसाइकललाई प्राथमिकता दिएका छौँ,” इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, “पुराना कपडा वा फर्निचरलाई मूल्य अभिवृद्धि गरी आकर्षक सामग्री बनाइनेछ, जसले स्थानीयको आयआर्जनमा सहयोग पुर्‍याउनेछ ।”

यस केन्द्रले विद्यार्थी तथा स्थानीय तहका प्रतिनिधिहरूका लागि फोहोर वर्गीकरण र व्यवस्थापन अध्ययन गर्ने स्थलका रूपमा पनि काम गर्नेछ । महानगरले यस केन्द्रलाई फोहोर व्यवस्थापन मात्र नभई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । फेवाताल, सराङकोट र पुम्दीकोटजस्ता प्रमुख पर्यटकीय स्थल घुम्न आउने पर्यटकका लागि यो ‘ग्रिन भेन्चर जोन’ आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ । फोहोरबाट बनेका कलात्मक सामग्री अवलोकन तथा खरिद गर्न सकिने भएकाले यसले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।