धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ४ गते ।सप्तरी जिल्लामा सात वर्षीया बालिकाको अपहरण गरेर फिरौती मागेको अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।
सप्तरी जिल्ला अदालतको आदेशपछि अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार राजविराज पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको खडक नगरपालिका–८, बिसनपुरमा डेरा गरी बस्ने इमरान खानकी छोरी आसु खातुन (नेहा खातुन)लाई गत फागुन ५ गते बेलुका करिब ७ बजे सोही नगरपालिका–९, सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदले मोटरसाइकलमा राखी अपहरण गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलीले बालिकाको खोजतलास सुरु गरिएको थियो ।
प्रहरी टोलीले प्राविधिक तथा म्यानुअल दुवै माध्यमबाट अनुसन्धान अगाडि बढाइरहेको अवस्थामा फागुन ७ गते बिहान करिब ११ बजे अपहरणकारीले बालिकाका बुवालाई फोन गरी एक करोड रुपियाँ नगद र पाँच किलो सुन फिरौती माग गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फिरौती लिन रूपनी गाउँपालिका–१, खाँडो खोलामा बोलाइएपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले सोही दिन साँझ अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अहमदलाई थप अनुसन्धान, अपहरण, शरीर बन्धक तथा मानव ओसारपसार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
सप्तरी जिल्ला अदालतले मङ्गलबारको दिएको आदेश अनुसार अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।