धर्बेन्द्र झा
जनकपुरधाम, चैत ३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको सौन्दर्यीकरण तथा सडक,फुटपाथ,ई रिक्सा,सरसफाई र छाडाचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधाम धार्मिक तथा एतिहासिक नगरी भएपनि यसको समुचित व्यवस्थापन नभएको कारण बाहिरबाट आउने पर्यटकहरुमा जनकपुरधाम प्रतिको धारणा नकारात्मक देखिएको भन्दै जनकपुरधाम सहर व्यवस्थापन सुधार प्रस्ताव तैयार पारेको बताउनुभयो ।
उहाँले तयार पारिएको प्रस्ताव माथि गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार बसेको सरोकारवालाहरुको वैठकमा छलफल भएको र सुधारका लागि छलफल पश्चात विभिन्न निर्णयहरु भएको बताउनुभयो ।
गृह सञ्चार तथा कानूनमन्त्रालयका शाखा अधिकृत राधे शंकर पालका अनुसार सरोकारवालाहरुको वैठकवाट भएको निर्णयहरुमा जनकपुरधाममा फुटपाथलाई पैदल यात्रुका लागि सुरक्षित र व्यवस्स्थित बनाउन अवैध रुपमा राखिएका ठेला,पसल तथा संरचनाहरु जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा हटाउने साथै फुटपाथ प्रयोग सम्बनधी स्पष्ट मापदण्ड तयार गरी कडाइका साथ कार्यान्वयन गराउने, मुख्य सडक तथा सार्वजनिक स्थलहरुमा हरियाली प्रवद्र्धन ,सडक किनारमा वृक्षारोपण तथा सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गर्ने ,जनकपुरधाम उपमहानगरपालिका,श्रम तथा यातायात मन्त्रालय तथा जिल्ला ट्रफिक प्रहरी कार्यालयको समन्वयमा ई—रिक्साको सञ्चालनलाई व्यवस्थित बनाउन दर्ता ,रुट निर्धारण तथा पार्किंङल स्थल तोक्ने निर्णय भएको छ ।
त्यसैगरीजनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व र सरोकारवालाहरुको समन्वयमा सार्वजनिक स्थल,सडक तथा जानकी मन्दिर ,राम मन्दिर ,शिव मन्दिर,जनक मन्दिर गणेश मन्दिर,गंगासागर लगायतका धार्मिक पर्यटकीय क्षेत्रहरुमा नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्ने साथै अनाधिकृत रुपमा सञ्चालित पसलहरु लाई नियन्त्रण गर्ने, सडक तथा सार्वजनिक स्थानमा रहेका छाडा चौपायाको व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय गरी नियन्त्रण तथा व्यवस्थापन गर्ने निर्णय भएको गृह सञ्चार तथा कानून मन्त्रालयका शाखा अधिकृत पालले जानकारी दिनुभयो ।
गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको अध्यक्षतामा भएको आजको बैठकमा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री मनिष सुमन, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह, मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी ,उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जय घिमिरे,गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित सचिव गणेश नायक, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका वाडा अध्यक्ष, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, ई रिक्सा टेम्पु व्यवसायी संघ संगठनका प्रतिनिधि सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।