• १ वैशाख २०८३, मङ्गलबार

लोक संस्कृतिको जगेर्ना गर्न उत्सव आयोजना

blog

लोकगीत गाउँदै स्थानीय कलाकार । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, वैशाख १ गते । धनुषाको औरही गाउँपालिका–२, परवाहामा स्थानीय लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘परवाहा लोक संस्कृति उत्सव’ को आयोजना गरिएको छ । श्री युवा नाट्यकला परिषद् परवाहाको आयोजना तथा औरही गाउँपालिकाको सहयोगमा सो उत्सव आयोजना गरिएको हो ।

युवा नाट्यकला परिषद्का अध्यक्ष अनिल मिश्रले लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार चैत ३० देखि वैशाख १ गतेसम्म सञ्चालन भएको उत्सवमा मिथिलाञ्चलका विविध सांस्कृतिक विधा प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा ‘सांस्कृतिक सङ्क्रमण’ र ‘सांस्कृतिक पुनरुत्थान कि पुनर्विकार’ विषयमा विमर्शसमेत गरिएको जानकारी दिइएको छ । त्यसै गरी विद्यापति गीत, संस्कार व्यवहारसम्बन्धी गीत, गोधना तथा गाथा गायन प्रस्तुत गरिएको छ । लोरिक, दिनभद्री तथा सलहेस नाच जस्ता मिथिलाञ्चलका चर्चित ऋतु गीत, श्रम गीत र नारदी कीर्तन प्रस्तुत गरिएको अध्यक्ष मिश्रले बताउनुभयो ।

मिश्रले आधुनिकताको प्रभावले मौलिक संस्कृति ओझेलमा पर्न थालेकाले त्यसको जगेर्ना गर्न उत्सव आयोजना गरिएको बताउँदै गाउँघरमा रहेका पुराना लोकगीत, नाच तथा परम्परागत ज्ञानको अभिलेखीकरण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिचान नै हाम्रो संस्कृति हो । नयाँ पुस्तामा यसको महत्त्व हराउँदै गएकाले परम्परालाई जोगाउनु आवश्यक छ ।”

उत्सवमा स्थानीय कलाकारसँगै सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको छ । मिथिला क्षेत्रको सांस्कृतिक विविधतालाई थप उजागर गर्दै परवाहा क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरिने लक्ष्य परिषद्ले लिएको छ ।