विकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख १ गते । पश्चिम नवलपरासीको सुनवलमा बर्ड फ्लु देखिएको छ।
सुनवल नगरपालिका वडा नम्बर १३ सूर्यबस्तीमा स्थानीय इन्द्रकुमार केसीको केसी एकीकृत कृषि फर्ममा पालिएको कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो।
गत चैत्र २२ गते कुखुरा मरेपछि पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको र्यापिड टेस्टमा बर्ड फ्लु देखिएको थियो।
थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला काठमाडौँमा पठाइएकोमा चैत्र २६ गते बर्ड फ्लु पुष्टि भएको थियो।
त्यसपछि प्रक्रियागत ढिलाईका कारण आज मात्रै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका पशु चिकित्सक प्रतिमा बिष्टले जानकारी दिनुभयो ।
उक्त फर्मलाई केन्द्रबिन्दु मानेर आज सूर्यवस्ती क्षेत्रका दुई मिटर क्षेत्रभित्रका २१० वटा कुखुरा नष्ट गरिएको बिष्टले बताउनुभयो।
दुई सय कुखुरा मरेपछि कृषि फर्म धनी केसीले शङ्का लागेर कुखुराको नमुना परीक्षण गराउनुभएको थियो। बर्ड फ्लु फैलिएको थाहा पाएपछि सो क्षेत्रका कतिपय स्थानीयले कुखुरा बिरामी नपर्दै धमाधम बिक्री तथा मासु खाएको बताएका छन् ।
तर सङ्क्रमित क्षेत्रमा त्यस्तो कार्य गर्नु स्वास्थ्यका दृष्टिले गम्भीर जोखिम भएकाले सावधानी अपनाउन पशु चिकित्सकहरूले आग्रह गरेका छन् ।
बर्ड फ्लु मुख्यतया पक्षीमा लाग्ने रोग भए तापनि यो मानिसमा सर्ने जोखिम सधैँ रहन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार सङ्क्रमित पक्षीको र्याल, सुली वा मासुको सोझो सम्पर्कमा आउने मानिसमा यो सङ्क्रमण सर्न सक्छ।
विशेषगरी फार्ममा काम गर्ने मजदुर र मासु काट्ने व्यक्तिहरू यसको उच्च जोखिममा हुन्छन्।
पश्चिम नवलपरासीमा सीमावर्ती भारतीय नाका हुँदै दैनिक अवैध रूपमा पन्छिजन्य पदार्थ भित्रने गरेको छ। सीमामा सुरक्षा निगरानी कडाइ नहुँदा जोखिम झनै बढेको छ।