• १ वैशाख २०८३, मङ्गलबार

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

blog

तानसेन (पाल्पा), चैत ३० गते । पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा स्थानीय तहको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को प्रयोगमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन गरिएको हो । 

अभियानअन्तर्गत स्वास्थ्यकर्मीको टोली प्राविधिक उपकरणसहित गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेका छन् । केही दिन यता जिल्लाको पूर्वखोला गाउँपालिकामा यो अभियान सञ्चालन भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । क्षयरोगका बिरामीलाई छिटोछरितो पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । 

“सामान्य एक्सरेमा नदेखिने सूक्ष्म समस्या यो प्रविधिले तत्काल पहिचान गर्ने हुनाले उपचार प्रक्रिया सहज भएको छ । त्यसका लागि डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ । यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ”, शाखा प्रमुख ढकालले भन्नुभयो ।

पालिकाको  वडा  ५ वीरकोट स्वास्थ्य चौकी र वडा १  सिलुवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी शङ्कास्पद बिरामीको परीक्षण गरिएको छ । विरकोटमा एक सय ८७  जनाको परिक्षण गरिएकामा ३४ जना शङ्कास्पद बिरामी भेटिएको र एक जनाको तत्कालै उपचार सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । 

यस्तै, सिलुवामा दुई सय ८० जनाको परीक्षण गरिएकामा ४५ जना शङ्कास्पद बिरामी भेटिएका र तीन जनाको तत्कालै उपचार सुरु गरिएको छ । यहाँ भेटिएका शङ्कास्पद क्षयरोगीको थप अवस्था परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल रिफर गरिएको छ ।  

एआई  प्रविधिले फोक्सोको तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गर्छ र क्षयरोगको सम्भावनालाई प्रतिशतमा देखाउने गरेको प्राविधिक साझेदार विएनएमटी  नेपाल पाल्पा परियोजनाका संयोजक सुदीप पौडेलले बताउनुभयो । 

अरु एक्सरे मेसिनभन्दा एआई प्रविधिले बिरामी पत्ता लगाउन सजिलो भएको यशोधरा आधारभूत अस्पताल कपिलबस्तुका मेडिकल अधिकृत अमूल्यकुमार पाठकले बताउनुभयो । 

पालिकाले विभिन्न सङ्घ संस्थाको सहकार्यमा गाउँगाउँ पुगेर क्षयरोगका बिरामी खोज्ने र समयमै उपचार गरी पालिकालाई क्षयरोगमुक्त बनाउन लागिएको वडा  ५ का वडाध्यक्ष विष्णुकुमार पल्लीले बताउनुभयो । रासस