• ३० चैत २०८२, सोमबार

पर्सामा प्रहरी जवानको हत्या, चार जना पक्राउ

blog

कन्हैयालाल केशरी
पर्सा, चैत ३० गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको पर्सामा हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान चौरसिया गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो। जानकारी प्राप्त भएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीले उहाँलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहट जिल्लाका २६ वर्षीय सन्तोष साह, उहाँकी श्रीमती २४ वर्षीया सोनी साह, बारा जिल्लाका १९ वर्षीय विशाल साह र भारतीय नागरिक २० वर्षीय कन्हैया कुमारलाई पक्राउ गरिएको छ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र थप विवरण अहिले सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ। प्रहरी जवान चौरसिया १० दिनको घर बिदामा पर्सा आउनुभएको थियो। उहाँको घर पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–१ मा रहेको छ।