• ३० चैत २०८२, सोमबार

भारतीय पर्यटकलाई भारु सुविधा : नीतिमा राहत सीमामा सास्ती

blog

फाइल तस्बिर

शशिधर पराजुली 

विराटनगर, चैत ३० गते । केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न पाँच हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायी उत्साहित बने । उहाँले भन्नुभएको थियो, “भारतीय पर्यटकले अब ढुक्क भएर चार लाख १५ हजार भारतीय रुपियाँ अर्थात् पाँच हजार अमेरिकी डलर बराबर हुने रकमसम्म नगद बोकेर नेपाल भ्रमणमा आउन सक्छन् ।”

अहिलेसम्म २५ हजारभन्दा बढी मुद्रा बोकेर नेपाल आउन नपाएका भारतीय नागरिक अब भने सहजै आउने विश्वासले व्यवसायी उत्साहित बनेका थिए तर भारतीय पर्यटकले पर्याप्त खर्च बोकेर नेपाल आउन नसक्नुको कारण नेपाल सरकारको निर्णय नभई भारतीय पक्षकै नियन्त्रणका कारण समस्या देखिएको छ । 

गत साता नेपाल–भारत सीमावर्ती बजार जोगबनीमा यस्तै एउटा घटना भएको थियो । नेपाल घुम्न आउँदै गरेका भारतीय पर्यटकको एउटा समूहलाई भारतीय प्रहरीले घन्टौँ रोकेर केरकार ग¥यो । कारण थियो, उनीहरूसँग भारत सरकारले तोकेको २५ हजार भारुको सीमाभन्दा बढी रकम हुनु । अन्ततः २५ हजार मात्र बोक्ने सर्तमा उनी नेपाल छिर्न त पाए तर उनीहरूको घुम्ने उत्साह जोगबनीमै सेलाइसकेको थियो । यस्तो घटना भारतीय पक्षबाट मात्र होइन नेपाल प्रहरीबाट पनि हुने गरेको छ । दुई/तीन लाख भारतीय मुद्रा बोकेर आएका पर्यटक पनि विराटनगर र इटहरीबाट बेलाबखत पक्राउ पर्ने गरेका छन् । जसले गर्दा भारतीय पर्यटक नेपाल घुम्न आउनका लागि झन्झट मान्न थालेका छन् । 

बिहीबार मात्रै सुनसरीको भन्टाबारीबाट एक जना भारतीयसहित दुई जना पक्राउ परे । उनीहरूका साथबाट पाँच लाख नेपाली र करिब १३ हजार भारतीय रुपियाँ बरामद भएको थियो । प्रहरीले हुन्डीको रकम हुन सक्ने आशङ्कामा उनीहरूलाई पक्राउ गरेको हो । सीमावर्ती क्षेत्रमा यस्ता घटना दिनहुँ हुने गरेको छ जसले गर्दा प्रहरीलाई पनि पर्यटक हुन् कि अवैध कारोबारी छुट्याउन कठिन छ । 

कोशी पर्यटन वर्ष निर्देशक समितिका संयोजक भविषकुमार श्रेष्ठ सरकारको नीति र कार्यान्वयनका बिचमा केही अन्तर रहेको बताउनुहुन्छ । उहाँले सरकारसँग बुझाइका केही सीमा रहेको बताउनुभयो । “सरकारले समस्या सुन्यो तर बुझेन,” श्रेष्ठ भन्नुहुन्छ, “नेपालले पाँच हजार डलर बराबरको भारु ल्याउन दिन्छु भन्नु मात्र समाधान होइन, भारत सरकारले २५ हजारभन्दा बढी बोकेर नेपाल प्रवेश गर्न नदिइरहेको विषयमा समस्या छ । जबसम्म दुई देशबिच यस विषयमा कूटनीतिक समझदारी हुँदैन, तबसम्म यो समस्याको समाधान सहज छैन ।”

नेपालमा क्यासिनो, विलासी होटेल, मेडिकल कलेज र धार्मिक पर्यटन र स्वास्थ्योपचारका लागि समेत भारतीय सीमावर्ती नेपाली सहरमा आउन चाहन्छन् तर पर्याप्त नगद बोक्न नपाउँदा उनीहरूले चाहेर पनि खर्च गर्न पाइरहेका छैनन् । अर्थ सचिव उपाध्यायले भारु खर्च गर्दा नेपालको डलर सञ्चितिमा राहत पुग्ने तर्क गरे पनि व्यवसायी भने सरकारले आगामी बजेटमार्फत नै यो समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछन् । 

जबसम्म नेपाल र भारतका सुरक्षाकर्मीबिच समन्वय हुँदैन र २५ हजारको ‘सिलिङ’ माथि दुई देशबिच नयाँ समझदारी बन्दैन, तबसम्म भारतीय पर्यटकका लागि नेपालको यात्रा ‘आर्थिक झन्झट’ बनिरहने पर्यटन व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । उहाँले जेनजी आन्दोलनपछि भारतीय पर्यटकको आवागमन घटेको जानकारी दिनुभयो । त्यसअघि भने विराटनगर, इटहरी, भेडेटारसम्मका होटेल तथा लजमा भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेकामा अहिले आन्दोलन र सुरक्षाको कुरा उठाएर धेरै भारतीय यहाँ नआइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले शान्तिसुरक्षाको प्रत्याभूति र सहज आवागमनको सुनिश्चित गर्ने हो भने यस क्षेत्रमा प्रशस्त भारतीय पर्यटक ल्याउन सकिने आधार छ । साथै हामीले कोशी पर्यटन वर्षको अवसरमा भारतीय पक्षलाई आकर्षित गर्न पर्याप्त प्रयत्न गरेका पनि छौँ ।”