सुर्खेत समाचारदाता
सुर्खेत, चैत ३० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याएर १० औँ राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुङ्ग्याउन बजेटसमेत विनियोजन भइसकेकाले बाँकी काममा ढिला नगर्न निर्देशन दिनुभएको हो ।
रङ्गशाला निर्माणको बाँकी कामसम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नु पर्छ ।”
उहाँले निर्माण व्यवसायीलाई कार्यतालिका अनुसार काम अगाडि बढाउन र बाँकी रहेका काम निश्चित समय सीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिनुभयो । निर्माणको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले जिम्मेवार निकायलाई आफ्नो भूमिकामा गम्भीर हुनसमेत आग्रह गर्नुभयो ।
उहाँले रङ्गशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको भन्दै खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै त्यसलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
त्यसै गरी मुख्यमन्त्री कँडेलले आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित आवश्यक तयारीमा जुट्न पनि निर्देशन दिनुभएको छ । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्ष समयमै सुनिश्चित गर्नुपर्ने भन्दै उहाँले कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित सङ्घीय सरकारसमक्ष प्रस्ताव पेस गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैङ्कमा समावेश गर्न आग्रह गर्नुभयो । चालु आवको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्न पनि सुझाव दिनुभयो । त्यसका साथै उहाँले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पार्नुभयो । उहाँले कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोही अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा परिषद्का पदाधिकारीले निर्माणाधीन रङ्गशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।