• ३० चैत २०८२, सोमबार

‘दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गरिने’

blog

भैरहवा समाचारदाता

भैरहवा, चैत ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको रुकुमपूर्व अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौँ । रिक्त हुँदाबित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौँ ।” मुख्यमन्त्री आचार्यले सो अवसरमा भन्नुभयो, “विशेषज्ञ जनशक्ति पु¥याउन केही चुनौती छन् । ती चुनौतीलाई समाधान गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।”

उहाँले विषयगत विशेषज्ञ चिकित्सक पु¥याउन सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री आचार्यले पूर्वी रुकुमका सबै वडामा सडक पु¥याउन विगतदेखि काम भइरहेको उल्लेख गर्दै आगामी वर्षमा आवश्यकता अनुसार बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारूले रुकुमपूर्वलगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था तथा अस्पताललाई विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारमा बलियो बनाउने गरी काम भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो तर हामीले यो परिपाटी बदल्न सकेका छौँ । अब पहिला दुर्गम अनि त्यसपछि सुगम पठाउने व्यवस्था मिलाएका छौँ ।” प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

सङ्घीयतापछि २०७४ सालमा रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि साबिकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो । सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यासम्म सेवा दिँदै आएको अवस्था थियो । 

अस्पतालबाट अन्तरङ्ग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्सरे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, स्वास्थ्यलगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खरालले जानकारी दिनुभयो ।