• ३० चैत २०८२, सोमबार

हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते

blog

राममणि दाहाल
मकवानपुर, चैत ३० गते ।
हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर क्याम्पाडाँडा सडकखण्डमा भएको सवारी दुर्घटनामा ४५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

सवारी साधन दुर्घटना भएको खबरपछि इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी नायब निरीक्षक कुमार केसी फुयालको नेतृत्वमा प्रहरी टोली पुग्दा सडक छेउमा रोकी राखेको ना ७ ख ५८३८ नम्बरको ढुङ्गालोड टिप्पर गाडीमा सोमबार बिहान १ः४० बजेको समयमा काठमाडौँबाट काँकडभिटातर्फ जाँदै गरेको  बा.प्र.०३–००१ ख २५५६ नम्बरको यात्रु बाहक बस ठक्कर खाई दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

बसमा सवार बस चालकसहित ४५ जना घाइतेलाई  उद्धार गरी उपचारको लागि चुरेहिल अस्पताल हेटौँडा र हेटौँडा अस्पताल मकवानपुरमा पठाइएको थियो । घाइतेहरुमध्ये बस चालकसहित ३६ जनाको  चुरेहिल अस्पतालमा भइरहेको छ । हेटाँैडा अस्पतालमा नौ जनाको उपचारका लागि पठाइएकोमा हेटौँडा अस्पतालमा उपचारका लागि गएका आठ जना डिस्चार्ज भएका छन् ।

ती घाइतेहरु मध्ये दुई जना गम्भीर, नौ जना मध्यम र ३४ जना घाइतेको अबस्था तत्काल सामान्य रहेको छ । टिप्पर चालक मकवानपुर राक्सिराङ गाउपालिका ३ का २५ वर्षीय अशोक पाख्रिनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ ।

यस्तै, पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा ३ शान्तिचौकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक र पैदलयात्री दुवै जना घाइते भएका छन् ।

आइतबार भएको दुर्घटनामा घाइते भएका दुवै जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भएको छ ।

नगरपालिकाको गाडीमा फोहर फाल्न बाटो छेउमा उभिरहेकी पैदलयात्री हेटौँडा ३ शान्ति चौकी २८ वर्षीया राममाया तामाङलाई नेवारपानी तर्फबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना ६० प २०५ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको हो ।

मोटरसाइकल चालक बारा जिल्ला निजगढ नगरपालिका १३ का वर्ष ३०/३५ को वीरबहादुर प्रजाको अवस्था मध्यम र पैदलयात्री घाइते महिलाको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।