पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ३० गते । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विकास निर्माणका कामहरू ठप्प पारेका छन् ।
निर्माण व्यवसायी सङ्घ नवलपरासीको आह्वानमा व्यवसायीहरूले सञ्चालनमा रहेका साना तथा ठुला सबै आयोजनाहरूको काम बन्द गरेका हुन् । इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष नवीन ज्ञवालीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर काम रोक्नुपरेको बताउनुभयो। “हामीले निर्माण आपतकाल घोषणा गर्न र मूल्य समायोजन गर्न माग गरेका थियौँ,’’ अध्यक्ष ज्ञवालीले भन्नुभयो, “व्यवसायीहरू टाट पल्टिने अवस्था आएपछि मेसिन र कामदारहरू कार्यस्थलबाट फिर्ता बोलाउन हामी बाध्य भयौँ।’’
सङ्घका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिमा देखिएको समस्या समाधान गर्न र राष्ट्र बैंकको अनुपयुक्त मूल्य सूचकाङ्कलाई खारेज गरी वास्तविक बजार मूल्यका आधारमा भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ।
निर्माण व्यवसायी दीपक भुसालले बजारमा सिमेन्ट, डण्डी र बिटुमिनको मूल्यमा भएको चलखेलले गर्दा काम गर्ने वातावरण नै नरहेको उल्लेख गर्नुभयो। “साइटमा सामान झार्न सक्ने स्थिति छैन, बैंकको ब्याज र मजदुरको खर्चले थिचेको छ,“ भुसालले गुनासो गर्नुभयो, “सरकारले ठेक्का लगाउने तर समस्या पर्दा नहेर्ने प्रवृत्तिले गर्दा आज हामीले निर्माण उपकरणहरू थन्काउनुपरेको छ।’’
निर्माण कार्य बन्द भएसँगै जिल्लाका रणनीतिक सडक र स्थानीय तहका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कामहरू अनिश्चित बनेका छन्। सङ्घका सचिव कृष्णप्रसाद पौडेलका अनुसार इन्धनमा भएको मूल्यवृद्धि र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को अभावले गर्दा जिल्लाका पुल, सडक र भवन निर्माणका कामहरू प्रभावित भएका छन्। उहाँले भन्नुभयो, “बजारको वास्तविक मूल्य र सरकारी रेटमा जमिन–आसमानको फरक छ। यस्तो अवस्थामा काम जारी राख्नु भनेको व्यवसायबाट पलायन हुनु हो। जबसम्म मूल्य समायोजन मार्गदर्शिका–२ जारी हुँदैन, तबसम्म काम सुचारु हुँदैन।’’
व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र चरणबद्ध रूपमा थप कडा कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएका छन्।