सर्लाही समाचारदाता
सर्लाही, चैत ३० गते । चुरेपाखामा पर्ने सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय खोल्सा र कुवाको दूषित पानी पिउन बाध्य छन् । दापडाँडास्थित घट्टे टोल, स्याङ्तान टोल र गुन्जमान टोलमा करिब १२० घरधुरीको बसोबास रहेको छ । बस्तीमा खानेपानीको सुविधा नरहेकाले गाउँले खोल्सा र कुवामा रसाउने पानी पिउन बाध्य छन् ।
दापडाँडाकी विष्णुमाया मोक्तानले बस्तीमा खानेपानीको असाध्य दुःख रहेको गुनासो पोख्नुभयो । खोल्सामा रसाएको एक गाग्रो पानी ल्याउन दुई घण्टा उकालोओरालो गर्नुपर्ने बाध्यता रहेको मोक्तानले दुःखेसो पोख्नुभयो । “खोल्सामा जरुवा पानी रसाउन्जेल त त्यही पानी ल्याएर खान्छौँ तर खडेरीको बेला खोल्सा पनि सुक्दा साह्रै समस्या हुन्छ,” मोक्तानले भन्नुभयो, “बस्तीमा सबैभन्दा ठुलो समस्या भनेकै खानेपानीको अभाव हो ।”
नगरपालिकाले ट्याङ्करमा पानी पठाउने गरेको भए पनि चुरेपाखाको बाटो बिग्रिएर अहिले नगरपालिकाको ट्याङ्करसमेत आउन नसकेको स्थानीयको भनाइ छ । मानिसलाई पिउन, वस्तुभाउलाई खुवाउन र सरसफाइका लागि समेत पानीको असाध्य समस्या रहेको गाउँलेको गुनासो छ ।
स्थानीयले खोल्साको पानी ओसारेर डाँडामा राखिएको प्लास्टिकका ठुला ठुला ड्रममा जम्मा पारेर राख्ने गरेका छन् । चुरेफेदीबाट दापडाँडासम्म पुग्ने पाखाको कच्ची सडक भए पनि पानी पर्नासाथ बाटो बिग्रिने गरेकाले बर्खाका बेला खानेपानीको ट्याङ्कर पठाउन नसकिने नगरपालिका कार्यालयले जनाएको छ ।
बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले बाटो सही हुँदा दुई/तीन दिनको फरकमा ट्याङ्करमा पानी पठाउने गरिएको जानकारी दिनुभयो । यसअघि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पर्ने कौवाडाँडातर्फबाट लिफ्टिङ गरेर खानेपानी ल्याइएको भए पनि सोलार प्रणाली बिग्रिएपछि दापडाँडा क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।
दापडाँडाका प्रत्येक जसो टोलमा खानेपानीको स्रोत रहेकाले लिफ्टिङ प्रणालीका लागि बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह गरिएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो । वडाध्यक्ष पाख्रिनले भन्नुभयो, “हाम्रै क्षेत्रका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहा खानेपानीमन्त्री रहेकाले दापडाँडाको खानेपानी समस्याबारे बजेट माग गरेका छौँ ।” प्रदेश सरकारले बजेट विनियोजन गरिदिए वडाले पनि पैसा छुट्याएर नगरपालिकाको विकट क्षेत्रमा पर्ने दापडाँडामा खानेपानी पु¥याउने योजना बनाएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो । गाउँमा अहिले बिजुली आइसकेकाले नगरपालिका, प्रदेश र सङ्घीय सरकारले पहल गरे सजिलैसँग विद्युतीय प्रणालीमार्फत लिफ्टिङ गरेर खानेपानी ल्याउन सकिने अवस्था रहेको स्थानीयको भनाइ छ ।