हुम्ला समाचारदाता
हुम्ला, चैत ३० गते । चार वर्षअगाडि सम्झौता भएको सर्केगाड गाउँपालिकामा शिलान्यास भएर निर्माण सुरु भएको १५ शय्याको अस्पतालको कामले यतिबेला तीव्रता पाएको छ ।
पटक पटकको म्याद थप र गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको ताकिता दिएपछि निर्माण कम्पनीले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले अस्पताल भवन निर्माणले गति लिएकाले यही आवमा सम्पन्न हुने आशा गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माणका लागि सम्झौता भएको वर्ष शिलान्यास गर्ने काम मात्र भयो । दोस्रो वर्ष हात्तीपाइले ढलानको कार्य भएको थियो भने तेस्रो वर्ष पिल्लर ढलान भएर काम रोकिएको थियो । गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको धम्की दिएपछि गत भदौबाट कामलाई तीव्रता दिन थालेको अध्यक्ष रोकायाको भनाइ छ । निर्माण कम्पनी सिएम कन्स्ट्रक्सनका सबइन्जिनियर डिबी लामाले अहिलेसम्म अस्पतालको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरुमा सडक सञ्जाल नजोडिएका कारण बाहिरबाट ढुवानी गरेर निर्माण सामग्रीको व्यवस्था गर्न कठिन भएकाले काम अगाडि बढ्न सकेन । अहिले राष्ट्रिय सडक सञ्जालसँग गाउँपालिका जोडिँदा निर्माण सामग्री सहज रूपमा ढुवानी हुन थालेपछि कामलाई अगाडि बढाउन सहज भएको छ ।” उहाँ भवनको पहिलो तलाको ढलान पूरा भएको र अब उक्त भवनको फिनिसिङ भइरहेको बताउनुहुन्छ ।