शंकर केसी
शारदा (सल्यान), चैत ३० गते । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–स्थित ईलाका प्रहरी कार्यालय सल्लीबजारमा मुद्दा शाखा नहुँदा स्थानीयवासीले सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ। सोही कारण स्थानीयले ईप्रका सल्लीबजारमा मुद्दा शाखा स्थापना गर्न माग गरेका छन्।
साक्षी बयान, उजुरी दर्ता, कागजात मिलान तथा अनुसन्धानसम्बन्धी प्रक्रियाका लागि पटक–पटक सदरमुकाम धाउनुपर्ने अवस्था रहेको भन्दै स्थानीयले मुद्दा शाखाको आवश्यकता औँल्याएका हुन्। विशेषगरी फौजदारी प्रकृतिका मुद्दामा म्याद थप तथा अनुसन्धानसम्बन्धी कार्य जिल्ला प्रहरी कार्यालय, ईप्रका लुहाम र थारमारेबाट मात्र हुँदै आएको छ।
ईप्रका सल्लीबजारमा मुद्दा दर्ता हुँदा पनि साक्षीसहित बारम्बार सदरमुकाम खलङ्गा जानुपर्ने भएकाले समय र खर्च दुवै बढेको बनगाड कुपिण्डे नगरपालिका–१० निवासी युवा राजेश वलीले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय प्रमुखबाट ईप्रका सल्लीबजारमा छिट्टै मुद्दा शाखा सञ्चालन गर्ने आश्वासन प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता देवराज भट्टराईका अनुसार ईप्रका सल्लीबजारमा मुद्दा शाखा सञ्चालनका लागि जनशक्ति, स्रोत–साधन तथा माथिल्लो निकायको स्वीकृति आवश्यक पर्ने भएकाले सम्बन्धित तहबाट निर्णय हुनुपर्ने अवस्था छ। उहाँले यसका लागि आवश्यक पहल आवश्यक रहेको बताउनुभयो।
कार्यालयका अनुसार उजुरी दर्ता तथा प्रारम्भिक अनुसन्धानका काम ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूबाटै हुने भए पनि फौजदारी तथा अन्य ठुला मुद्दामा म्याद थपलगायतका कानुनी प्रक्रिया अदालत तथा जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएकाले साक्षी तथा सरोकारवालाहरूलाई जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता यथावत् रहनेछ।
बनगाड क्षेत्रका नागरिकले कानुनी प्रक्रियाका लागि घण्टौँ टाढा यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन्। यातायात खर्च, समयको अभाव र प्रक्रियागत झन्झटले न्यायमा पहुँच सीमित भएको उनीहरूको भनाइ छ।
स्थानीय सरोकारवालाले ईप्रका सल्लीबजारमा तत्काल मुद्दा शाखा स्थापना गर्न माग गरेका छन्। यसले सेवाप्रवाह सहज हुने, नागरिकको समय र खर्च बचत हुने तथा न्यायिक पहुँच प्रभावकारी हुने अपेक्षा गरिएको छ।