• २ वैशाख २०८३, बुधबार

‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने

blog

असन बजार । फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १ गते । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकतालाई जोगाउन यही वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने भएको छ ।

यसअघि स्थानीय सङ्घसंस्था, क्लब तथा समुदायको चैत २८ गतेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकार भएका निकायका अधिकारी, स्थानीय सङ्घसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले कार्यक्रम तयारीमा कमजोरी हुन नदिन एक साता पछाडि सारेर वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

“असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो”, बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “वडा कार्यालयको नेतृत्व, सरोकार भएका तथा साझेदारको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।” आवागमन, स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘भेहिकल  फ्री असन’ कार्यक्रमअन्तर्गत कामपा–२७ को कमलाक्षी चोकबाट असनसम्म, भोटाहिटी चोकबाट असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ । 

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने कामपाले जनाएको छ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिने कामपाको तयारी छ ।

“स्थानीय, सङ्घसंस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो”, वडाध्यक्ष खड्गीले भन्नुभयो, “कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।”

छलफलमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङ र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन व्यवस्थापनलाई मजबुत बनाइने प्रतिबद्धता जनाउनुभयो । रासस