राजविराज (सप्तरी), वैशाख १ गते । हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका-३ पोर्ताहा बस्ने दिपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोशी ब्यारेजको गोलघर नजिक कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी नदीको ब्यारेजमा खोजी गरेको उहाँले बताउनुभयो ।
खोजीका क्रममा गम्भीर घाइते अवस्थामा फेला परेका रिपेशलाई भारदह अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस