गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १ गते । एक वर्षको अवधिमा बजारमा पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका हुन् । एक वर्षको अवधिमा पेट्रोल लिटरमा ५६ रुपियाँ, डिजेल प्रतिलिटरमा ५८ रुपियाँ, हवाई इन्धन आन्तरिक लिटरमा ८८ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरमा एक सय रुपियाँ मूल्य बढेको छ ।
नेपाल आयल निगमका अनुसार २०८१ चैत अन्तिममा प्रतिलिटर १६३ रहेको पेट्रोलको मूल्य अहिले बढेर २१९ रुपियाँ पुगेको छ । यस्तै प्रतिलिटर १४९ रुपियाँ रहेको डिजेलको मूल्य बढेर लिटरमा २०७ रुपियाँ पुगेको छ ।
एक वर्षअघि प्रतिलिटर १२५ रुपियाँ रहेको हवाई इन्धन (आन्तरिक) को मूल्य बढेर २५१ रुपियाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डरको मूल्य एक सय रुपियाँले बढेर दुई हजार १० रुपियाँ पुगेको छ ।
एक महिनादेखि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर स्थानीय बजारमा परेको हो । युद्धका कारण पछिल्लो एक महिनादेखि तेलको मूल्य निरन्तर बढ्दै गएको छ । निगमले एक महिनामा चार पटक मूल्य बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्य निरन्तर बढ्दै गएकाले निगमले समेत मूल्य बढाउँदै आएको छ ।
इन्धनको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा बढ्दा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश वस्तुको मूल्य बढ्दा आमउपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।
इन्धनको मूल्य बढ्दै गएपछि सरकारले आइतबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । मुलुकभर दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुने गर्छ । शनिबारसँगै आइतबारसमेत सार्वजनिक बिदा हुँदा इन्धन खपत कम हुने निगमले जनाएको छ । यस्तै खपत घटाउन अर्थ मन्त्रालयले सरकारी कर्मचारीले पाउने इन्धन सुविधासमेत आधाले कटौती गरिसकेको छ ।