सिराज खान
नेपालगन्ज, वैशाख १ गते । नेपालगन्ज १२ मा सिर्जना बुढा मगरको जलेर मृत्यु भएको घटनामा संलग्न भई फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक रमेश विष्टका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त सिर्जनाका प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीलाई यसअघि नै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोमा घटनापछि फरार रहेका आरिफ ढपालीका बुवा र भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उहाँले पक्राउ पर्नेमा ५० वर्षीय रहमत ढपाली र उहाँका छोरा २१ वर्षीय मोहम्मद आदिल ढपाली रहेको जनाउँदै घट्नाको अनुसन्धानलाई तिव्र पारिएको बताउनुभयो ।
प्रहरीले निकालेको बिज्ञप्तीमा उनिहरुलाई कहाँबाट पक्राउ गरिएको उल्लेख नगरेपनि दुबैजना बाबु छोरालाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको बताईएकोे छ ।
भारतीय प्रहरीसँगको समन्वयमा रहमत र आदिललाई दिल्लीबाट पक्राउ गरेर ल्याईएको प्रहरीका एक उच्च अधिकारीले बताउनुभयो । रहमतले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै श्रीमति र आफ्ना छोराको रिहाइको माग गरेका थिए ।
त्यसमा उनले श्रीमति र छोराछोरीलाई प्रहरीले हिरासतमुक्त गरे आफु प्रहरीमा आत्मसमपर्ण गर्ने बताएका थिए । त्यही भिडियोको आधारमा प्रहरी उनीसम्म पुग्न सफल भएकोे र पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबिच प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको र घटनाको थप विवरण क्रमश: सार्वजनिक गरिने जनाएको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले यो घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धानलाई निकै सुक्ष्म तरिकाले अघि बढाईएको बताउनुभयो ।
उहाँले यो घट्नामा संलग्न भएकालाई कुनै पनि हालतमा नछाडिने र निर्दोषलाई कुनै पनि हालतमा अपराधी नबनाउने उदेश्यका साथ अनुसन्धान भइरहेको बताउनुभयो ।
२०८२ साल चैत १४ गते राति करिब ११ः३५ बजे नेपालगन्ज उपमहानगर–१२ कोरियनपुरस्थित सडकमा सोही स्थानकी २२ वर्षीया सिर्जना बुढा मगरलाई जलेको अवस्था भेटेपछि प्रहरीले अस्पताल पुरयाउँदा उनको मृत्यु भएको थियो ।
घटनाका बारेमा मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य आरोपी सिर्जनाका प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीलाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको थियो ।
घटनापछि फरार रहेका आरिफ ढपालीका बुवा रहमत ढपाली र भाइ आदिल ढपालीलाई भने प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ ।