जनकपुर, वैशाख १ गते । मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो । नववर्षमा नेपाली समाजमा भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने गरिन्छ ।
वर्षको पहिलो दिन भगवानसँग आफूले चिताएको मनोकामना पुरा होस् भन्ने कामनासहित श्रद्धालु तथा भक्तजनहरु विभिन्न मठमन्दिर जाने परम्परा छ । जनकपुरधाम मन्दिरमा पनि दर्शन गर्नको लागी नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आएका छन् । विशेषगरी यहाँको जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ । भक्तजनहरूले वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
नयाँ वर्षमा धार्मिक स्थलमा दर्शन गर्ने परम्परासँगै यसले धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ । माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी र विवाह पंचमी जस्ता पर्वमा पर्यटकको आगमन बढ्ने गर्दछ । यसवर्ष पनि होटल, धर्मशाला तथा यातायात क्षेत्रमा चाप बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् । उनीहरुका अनुसार बढ्दो पर्यटक आगमनले यहाँको आर्थिक गतिविधि समेत चलायमान बनेको छ । स्थानिय व्यवसायी जितेन्द्र कुमार साहले नेपालमा हालै नयाँ सरकार पनि बनेकोले नयाँ सालमा धेरै परिवर्तन हुने आशा राखेको बताउनुभयो ।
स्थानीय वर्तमान सरकारको सुरुवाती कामकारबाही हेर्दा नयाँ वर्ष २०८३ साल अलि नै सुखमय हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले यो सरकारलाई बलियो बनाउन र काम गर्न सक्ने वातावरण बनाउन आफूले भगवान्संग प्राथना गरेको बताउनु भयो । जनताको आर्थिक स्थितिमा सुधार, सहज रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षा भएमा देश विकास हुने र जनता चाहना पनि यही रहेको उहाँले बताउनुभयो ।
जनकपुराधार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सुरक्षा, मन्दिरको सरसफाइ र व्यवस्थापनमा स्थानीय प्रशासनले पनि विशेष ध्यान दिएको जनाएको छ ।