काठमाडौँ, वैशाख १ गते । धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्त्व बोकेको टोखामा सपनतीर्थ मेला सुरु भएको छ ।
नयाँ वर्षको पहिलो दिनमा लाग्ने उक्त मेलामा आज बिहानैदेखि सपनतीर्थ मन्दिरको दर्शन गर्नका लागि जाने भक्तजनको घुइँचो लागेको हो । सपनतीर्थ मन्दिरमा दर्शन गरेर त्यहाँको तलाउमा स्नान गरे कुष्ठरोग निको हुने जनविश्वास रहेको छ ।
सपनतीर्थ मन्दिरमा दर्शन तथा तलाउमा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन सपनतीर्थ मन्दिर आइपुगेका छन् ।
सपनतीर्थमा मेलासँगै टोखामा ऐतिहासिक विस्का नखः(जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । सपनतीर्थ मेला आज एकदिन लाग्ने भएपनि टोखाको जात्रा भने चार गतेसम्म चल्नेछ ।
टोखाले जात्राका अवसरमा भोलि वैशाख २ गते बुधबार टोखाभर र वैशाख ३ र ४ गते टोखा नगरपालिका–२ र ३ मा बिदा दिएको छ । रासस