• १ वैशाख २०८३, मङ्गलबार

निसीखोलाको बुढाथोकमा सामुदायिक घरबास सञ्चालन

blog

बुढाथोक नाखा समुदायिक घरबासमा पुगेका आन्तरिक पर्यटक अर्गानिक खानाका परिकारको स्वाद लिदै । तस्बिर सौजन्य : खेमराज गौतम

नवराज नेपाली

बागलुङ (गलकोट), वैशाख १ गते । बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउमा छ, सुन्दर  बुढाथोक गाउँ ।

लोकमार्ग कालोपत्रपछि उक्त बुढाथोक गाउँ चर्चामा आएको हो । सडक सञ्जाल पुग्नुअघि ओझेलमा परेको उक्त गाउँ अहिले राजमार्गको छेउमा भएकाले धेरैको ध्यान तान्ने गरेको छ । 

अहिले त्यही परम्परागत घरमा अर्गानिक खानाका परिकार र सुविधासम्पन्न बस्ने व्यवस्थाका साथ सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत घरले भरिएको बुढाथोक गाउँ अहिले आन्तरिक पर्यटक तान्ने माध्यम बन्न थालेको हो । यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरिएको छ ।

यहाँका स्थानीयले तिनै परम्परागत घरमा अर्गानिक खानाका परिकार पस्केर पाहुँनालाई स्वागत गर्न व्यस्त हुन थालेका छन् । २०८२ मङ्सिरबाट सुरु गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालिसकेका छन् । 

पाँच महिनामा १२० पर्यटक घरबासमा आईसकेका छन् । लोकमार्गछेउमा परम्परागत मिलो घरले जो कोहीलाई समेत लोभ्याउने गरेको छ ।परम्परागत ढुङ्गेघरमा अर्गानिक खानाका परिकार, स्वागत तथा सत्कारले आन्तरिक पर्यटकहरू लोभिदै आएका छन् ।सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना बस्न सक्ने क्षमता रहेको जानकारी दिनुभयो ।

घरबास स्थापनाका लागि बिवाइसी बागलुङ अन्र्तगत दिगो पर्यटन प्रर्बद्धन परियोजनाको सहयोग रहेको बुढामगरको भनाई छ । मगरकाअनुसार घरबासमा समुदायको अपनत्व भएको बताउनुभयो । 

“समूहका विभिन्न महिलाहरुको सहभागीतमा सामुहिक भोजन, स्वागत तथा कलासंस्कृतिको प्रदर्शन गरेपछि परम्परागत घरमा लगेर पाहुँनालाई सुताइन्छ, घरबास सञ्चालनका लागि १६ वटा बेड, भान्साका सामाग्री, फर्निचर लगायतका बस्तुहरु सहयोग प्राप्त भएको थियो” बिमा बुढामगरले भन्नुभयो “नितान्त ढुङ्गाले छाएका परम्परागत पुराना घरमा अर्गानिक खानाका परिकारसंगै आतिथ्यता हाम्रो प्रमुख आकर्षक हो ।”

घरबासमा लोकल रक्सी, मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामालको भात, लोकल कुखुरा, खसी, भेडा लगायतको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ । 

घरबासमा एकरातमा खाना बस्नको व्यवस्था एक हजार २००मै हुनेगरेको बताउदै अझै प्रचार प्रसारको खाँचो रहेको सञ्चालिका बुढाको भनाई छ । पुराना घरमा नयाँ व्यवस्थापन सहितको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा पुग्नुभएका पर्यटक मुक्तिराम सापकोटाले जानकारी दिनुभयो ।

“घरबास सञ्चालकहरुको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर अर्गानिक खानाका परिकार चाख्न पाइयो, सिमेन्टका घरमा बसेर वाक्क परेका पाहुना ढुङ्गेघरमा बस्दा आनन्द आयो” सापकोटाले भन्नुभयो “घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचार प्रसार आवश्यक छ, घरबासको क्षमता वृद्धि गर्दै तातोचिसोपानी, बाथरुम जस्ता पूर्वाधार थप्दै लैजान भने आवश्यक छ ।”

घरबासमा पाहुनाको संख्या बढ्न थालेपछि यहाँका महिलाहरुलाई घरबासमा जोड्न थालिएको स्थानीय ललिता घर्तीले जानकारी दिनुभयो । निसीखोलामा निकै पुराना परम्परागत घरमा सञ्चालन गरिएको घरबासले लोकमार्ग भएर आउजाउ गर्ने पर्यटकलाई तान्न थालेको हो ।