नवराज नेपाली
बागलुङ (गलकोट), बैशाख १ गते । बागलुङको ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याममा विदेशी सिकारी सिकार खेल्न उच्च पहाडी भेगमा पुगेका छन ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार खेल्न धमाधम निजी हेलिकप्टरमार्फत सिकारी आइरहेका छन् ।
दोस्रो सिकार यामका रुपमा रहेको फागुन–वैशाख याममा सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तरखरमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर, १० झारल र १३ बनेको सिकार अनुमति दिइएको छ । दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न फागुने ब्लकमा अनुमति पाएको छ ।
यस्तै ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालि मार्फत अमेरिका, बेल्जियम र फ्रान्स नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमति पाएको छ ।
यस्तै नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्स नागरिकले सिकार खेल्ने तयारीमा नेपाल आइरहेका छन् । यस्तै ग्लोबल सफारिज प्रालि मार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले चार नाउर, २ झारल र ४ बनेलको सिकार गर्न अनुमति पाएको छ ।
यस्तै हिमालयन सफारिज नेपाल प्रालि मार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बनेल सिकारको अनुमति पाएकोमा एक नाउर र एक झारलको सिकार भइसकेको छ भने ट्रेक एण्ड देलर्स प्रालि मार्फत स्पेनी नागरिकले एक झारल, एक नाउर र एक बनेलको अनुमति पाएको सुवेदीको भनाई छ ।
ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिइएकोमा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार खेलेर फर्किएको र हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटनमा सिकारमा व्यस्त रहेको सुवेदीले जानकारी दिनुभयो ।
विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजश्व बुझाएर अनुमति पाएका थिए । दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसँग व्यस्त भएको रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।
चालु वर्षको पहिलो सिकार याममा तीन करोड तीन लाख राजस्व सङ्कलन भएकोमा दोस्रो सिकार यामको सिकारी आउनेक्रम जारी रहेकाले राजश्व सङ्कलनको काम भइरहेको छ ।
“अहिले सम्म एक नाउर र एक झारलको सिकार भइसकेको र अन्य केही सिकारी सिकार खेल्न व्यस्त भएको र केही सिकारी नेपाल आउने क्रममा रहेको छ” सुवेदीले भन्नुभयो “पहिलो सिकार याममा एउटै नाउरको १९ लाख र झरलको १८ लाख सम्म राजश्व संकलन भएको थियो, दोस्रो याममा राजश्व घट्ने अनुमान छ” ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको छ । विदेशी तथा धनाढ्यको रोजाईमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले पाएका छैनन् ।
सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ । सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो साताबाट नेपा आउन थालेका थिए । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् ।
सिकार खेल्ने क्रममा नेपाली सहयोगी सहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिर र दोस्रो सिकार याम फागुन–वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ ।
विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । विंस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ ।
जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ ।