• ४ चैत २०८२, बुधबार

ग्यासको कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन तीब्र

blog

ग्यास उद्योग र सप्लायर्समा अनुगमन ।

बोमलाल गिरी

नवलपुर, चैत ४ गते ।देशभर ग्यासको अभाव गरिएका समाचार बाहिर आउन थालेपछी जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

हिजो गैँडाकोट र देवचुली नगरपालिकामा अनुगमन गरेको प्रशासनको टोलीले आज बुधबार कावासोती र मध्यविन्दु नगरपालिकामा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योति अर्यालले जानकारी दिनुभयो ।

उहाँले चारवटै नगरपालिका भित्र रहेका ग्यास उद्योग र सप्लायर्समा अनुगमन गरिएको बताउनुभयो। अनुगमनमा कालोबजारी नदेखिएको र मध्यविन्दु नगरपालिका बाहेकमा ग्यासको अभाव नभएको अर्यालले बताउनुभयो।मध्यविन्दु मा भने ठुला सप्लायर्स नहुँदा केही समस्या भएको देखिएको अर्यालले बताउनुभयो । 

ग्यासको अभाव हुने ठानी ग्राहकहरू आत्तिएर धेरै तिरबाट ग्यासका सिलिन्डर खरिद गर्न खोज्नेहरूका कारण केही समस्या भएपनि व्यवस्थापन गर्ने गरेको सप्लायरले बताएका छन् । 

यसैबिच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ग्यासको कृतिम अभाव नगराउन अपिल गरेको छ ।कृत्रिम अभाव गराएको पाइए कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको छ ।

होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानासहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गराइएको भन्दै त्यसलाई रोक्न माग गरेको थियो ।

अमेरिका, इरान युद्धपछि नेपालमा ग्यासको अभाव हुन नदिन सरकारले आधा सिलिन्डर ग्यास आधा मूल्यमा बजार पठाउने निर्णय गरेको छ । सोही अनुसार बजारमा आधा सिलिन्डर वितरण गर्ने गरिएको छ ।