• ४ चैत २०८२, बुधबार

बास्केटबल लिग : टाइम्सको तेस्रो जित

blog

टाइम्सका खेलाडी ।

काठमाडौँ, चैत ४ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा टाइम्स इन्टरनेसनल क्लबले तेस्रो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्ड हलमा जारी लिगमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ८८–७५ ले हरायो । 

टाइम्सले पहिलो क्वाटरमा २३–१२ र दोस्रो क्वाटरमा २४–१६ को अग्रतासहित हाफ टाइमसम्म ४७–२८ को अग्रता बनाएको थियो ।

त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३–२० र चौथो क्वाटरमा २४–२१ को अग्रता लिएको थियो । 

टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ स्कोर गर्नुभयो । उहाँ म्यान अफ दि म्याच बन्नुभयो । यसअघिको खेलमा आर्मी क्लबले कीर्तिपुरलाई ९२–७८ ले हरायो । 

आर्मीले ३१–२३, २८–१०, २२–१९, ११–२६ को नतिजा निकालेको थियो । आर्मीका निश्चल महर्जनले २२ स्कोर गर्नुभयो । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा जारी लिगमा आठ टोलीले भाग लिएका छन् ।